RayNewsDaily
कोशीमा पनि एमाले नेतृत्वको सरकार जोखिममा

विराटनगर । सत्तारूढ माओवादीले कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।  सोमबार बसेको माओवादी संसदीय दलको आकस्मिक बैठकले समर्थन फिर्ता लिने–नलिने विषयमा तीन घन्टा छलफल गरेको थियो । निष्कर्षविना टुंगिएको बैठकले आज मंगलबार औपचारिक निर्णय गर्ने माओवादीले जनाएको छ । 

कांग्रेस, एकीकृत समाजवादी र जसपाले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन दबाब बढाएपछि माओवादीले औपचारिक निर्णय लिन लागेको हो । माओवादीमा नीति तथा कार्यक्रम र बजेटअगाडि नै सरकार छाड्ने कि पछाडि भन्नेबारे दुईथरी मत छ । सोमबारको बैठकले माओवादीले दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा सरकारलाई दिएको समर्थन के गर्ने भन्नेबारे निर्णय लिन कार्यदल गठन गरेको छ ।

माओवादी सांसद गणेश उप्रेतीले प्रदेशको नामकरणबारे हतारमा निर्णय गर्दा त्रुटि भएकाले सरकारको समर्थनबारे प्रदेशका शीर्ष नेताहरूसहित आज बस्ने बैठकले निर्णय गर्ने बताउनु भयो । कांग्रेस कोसी प्रदेशका चौधवटै जिल्ला सभापतिहरूको बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेर संघको परिवर्तनकारी गठबन्धनलाई कार्यान्वयन गर्न माओवादीलाई दबाब दिइसकेको छ । सरकारमा सामेल जनता समाजवादी पार्टीले सरकारले पहिचान पक्षधरको आन्दोलनमा दमन गरेको भन्दै समर्थन फिर्ता लिइसकेको छ । कोसी प्रदेशमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री हुनु हुन्छ । उहाँको सरकारमा माओवादीका दुईजना मन्त्री सामेल हुनु हुन्छ ।

सभामुखसहित कुल ९३ जना सांसद रहेको कोसी प्रदेश सभामा एमाले ४०, कांग्रेस २९, सभामुखसहित माओवादी १३, राप्रपा ६, एकीकृत समाजवादी चार र जनता समाजवादीका एकजना सांसद छन् । कोसीमा बहुमतको सरकार गठन गर्न ४७ सांसद चाहिन्छ । माओवादीले समर्थन फिर्ता लिएमा एमाले नेतृत्वको गठबन्धन सरकार अल्पमतमा पर्नेछ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाको मात्र सरकार बनेमा माओवादीका सभामुखले राजीनामा दिनुपर्ने हुन्छ । यदि राप्रपाले समर्थन जनाएमा सुविधाजनक बहुमत पुग्नेछ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update