RayNewsDaily
शेयर बजार ९ अंकले वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज एकल अंकले बढेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ९.३४ अंक बढेर २००१.६४ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज भोल्यूम भने कमजोर नै रहेको छ ।

हिजो २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज १ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज दुई वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । पछिल्ला दिनहरुमा दैनिक सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको बोटलर्स नेपाल (बलाजु) र हिजो करिब ९ प्रतिशत घटेको बिपिडब्लु लघुवित्तको शेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज चिरख्वा हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ५.०६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब साढे ६ करोडको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये आज ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशत बढेको छ । व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक भने घटेको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update