RayNewsDaily
शेयर बजार दोहोरो अंकले वृद्धि

रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १५.३३ अंक बढेर २१०१.१६ विन्दुमा पुगेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ४ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, जोशी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआईसी एशियाको कारोबार रकम साढे १३ करोड नाघेको छ । बजेट र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पूर्वसन्ध्या नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्से यस दिन भने बढेर बन्द भएको हो ।

१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.२२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update