RayNewsDaily
पछिल्लो १८ घण्टामा देशका विभिन्न भागमा भएका सडक दुर्घटनामा १९ जनाको मृत्यु, दर्जनौ घाईते

रे समाचार/काठमाडौं । पछिल्लो १८ घण्टामा देशका विभिन्न भागमा भएका सडक दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने अन्य दर्जनौ घाईते भएका छन् । 

Chandragiri Accident1705144403.jpg

बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गए राति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उहाँका अनुसार हालसम्म आठजना यात्रुको मात्र सनाखत हुन सकेको छ । अन्य मृतकको सनाखत हुन बाँकी छ । शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ । दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका-१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाको चन्दननाथ नगरपालिका-९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमको गोतामकोट-९ का २५ वर्षीय दीपक डाँगी, भारत विहारका ६७ वर्षीय योगेन्द्र राम र बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहनुभएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गए राति १०ः३० बजे राप्ति नदीमा खसेको हो । प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी चन्द्रागिरि नगरपालिका वडा नम्वर ४ पानीघाट नजिक हिमचुली सेतोपहरामा आज दिउँसो भएको सवारी साधन दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र ३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसी दुर्घटना भएको थियो । अपराह्न १ः५५ बजेको समयमा भएको दुर्घटनाबाट चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ लाजिम्पाटका डाक्टर महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतम हुनुुहुन्छ । दुर्घटनामा स्मारिकाकी आमा डाक्टर सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । बागलुङमा आजै भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका-५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका-११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

लामो यात्रामा एकजना मात्र सावरी चालक हुनु, बाक्लो हुस्सु लाग्नु, साँगुरो र घुम्ती सडक धेरै हुनु, सवारी चलाउँदा लापरवाही गर्नु, सवारीको मर्मत सम्हारमा ध्यान नदिनु जस्ता कारणहरु दुर्घटना निम्याउने सबैभन्दा ठूला कारकतत्व रहेको विज्ञहरुले बताएका छन् । 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update