RayNewsDaily
राप्ति बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १२ पुग्यो   

जानकी (बाँके) जानकी । बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा हालसम्म १२ जनाको मृत्यु भएको हो । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गए राति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उहाँका अनुसार हालसम्म आठ यात्रुको मात्र सनाखत हुन सकेको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन । शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ ।    
    
दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका-१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाको चन्दननाथ नगरपालिका-९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमको गोतामकोट-९ का २५ वर्षीय दीपक डाँगी, भारत विहारका ६७ वर्षीय योगेन्द्र राम तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेको प्रहरीले जनाएको छ ।    
    
दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचवटा एम्बुलेन्समा घाइतेलाई शिक्षण अस्पताल ल्याइएको थियो ।    
    
इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गए राति १०ः३० बजे राप्ति नदीमा खसेको हो । प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ । रासस   

  

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update