RayNewsDaily
गुरुङ समुदायले तमु ल्होसार मनाउँदै 

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको छ ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । यसैबीच सरकारले आज सार्वजनिक विदा दिएको छ । पर्वका अबसरमा देशैभरि सार्वजनिक विदा दिइएको गृहमन्त्रालयले जनाएको छ ।

‘तमु ल्होसार’का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा दलका प्रमुखले पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा  आज शुभकामना दिँदै पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । यसैबीच प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता र पहिचानका रुपमा रहेको उल्लेख गर्नुभएको छ । पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update