RayNewsDaily
नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

काठमाण्डौ। काठमाण्डौ जिल्ला अदालतले नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । एक हप्तादेखि चलिरहेको बहसको अन्तिम सुनुवाइपछि जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई दोषी ठहर गरेको हो ।
२०७९ सालको भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै एक नाबालिकाले भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।२०७९ सालको कात्तिक १४ गते जिल्ला अदालत, काठमाण्डौमा मुद्दा दर्ता भएकोमा आज फैसला भएको हो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत, पाटनले उनलाई छाडेको थियो । उच्चको आदेशलाई सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका थिए ।
३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिबाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update