RayNewsDaily
सर्वोच्च अदालतको नयाँ व्यवस्था, आदेश भएकै दिन अनलाइनमा हेर्न सकिने
  • सर्वोच्च अदालतले आदेशको विद्युतीय प्रविष्टि सेवा सुरु गर्‍यो ।
  • आदेश भएकै दिन अनलाइन प्रणालीबाट जानकारी लिन सकिने ।
  • सेवाग्राहीको समय, खर्च र झन्झट घट्ने अपेक्षा ।

रे समाचार/काठमाडौं । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था आइतबारदेखि लागू गरेको छ । सेवा प्रवाहलाई छिटो, पारदर्शी, प्रविधिमैत्री तथा सेवाग्राहीमुखी बनाउने उद्देश्यले यो प्रणाली सञ्चालनमा ल्याइएको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अब इजलासबाट हुने आदेश (फैसला वा अन्तिम आदेशबाहेक) सोही दिन अदालतको विद्युतीय प्रणालीमा उपलब्ध गराइनेछ । यसबाट मुद्दाका पक्ष, कानुन व्यवसायी तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्नेछन् ।

अदालतका अनुसार नयाँ व्यवस्थाले आदेशको जानकारी लिन पटक-पटक अदालत धाउनुपर्ने बाध्यता हट्नुका साथै न्यायिक प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन सहयोग पुग्नेछ । यसले अदालतका कर्मचारी र सेवाग्राहीबीच हुने अनावश्यक प्रत्यक्ष सम्पर्कसमेत कम गर्ने अपेक्षा गरिएको छ ।

विद्युतीय प्रणालीमा प्रविष्ट आदेशका आधारमा सम्बन्धित पक्षले आवश्यक प्रक्रिया पूरा गरी देशभरका कुनै पनि अदालतबाट आदेशको प्रमाणित प्रतिलिपि प्राप्त गर्न सक्ने व्यवस्था पनि गरिएको छ । यसबाट सेवाग्राहीको समय, श्रम र आर्थिक व्यय घट्ने तथा अदालतसम्म पुग्नुपर्ने असुविधा न्यूनीकरण हुने विश्वास अदालतको छ ।

सर्वोच्च अदालतले सूचना प्रविधिको प्रयोग विस्तार गर्दै न्यायपालिकालाई थप सेवाग्राहीमैत्री, पारदर्शी र सहज पहुँचयुक्त बनाउने अभियानअन्तर्गत यो व्यवस्था लागू गरिएको जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  २१:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update