RayNewsDaily
राष्ट्रतिको आदेशपछि रेशम चौधरी जेलमुक्त

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई कैदमा रहनुभएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरीलाई जेलबाट रिहा गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि रेशमलाई जेलबाट मुक्त गरिएको हो ।

सो कारागारबाट अन्य ९ जनालाई पनि आममाफीअनुसार रिहा गरिने भएको छ । मन्त्रिपरिषद्ले आइतबार बिहानै रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो ।

पाँच वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय माफी भएको हो । रेशमलाई लिन उहाँ बुबा र आमा डिल्लीबजार कारागार पुग्नुभएको थियो । उहाँको स्वागतका लागि  नाउपाका नेता कार्यकर्ता शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । रेशमलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले जेठ २ मा सदर गरेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update