- दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको सर्वोच्चको ठहर ।
- प्रहरी सङ्गठनको नेतृत्व र नियन्त्रण प्रणालीसँग जोडिएको विषय संवेदनशील रहेको अदालतको भनाइ ।
- लिखित जवाफ प्राप्त भएपछि वा अवधि सकिएको सात दिनभित्र रिटको पेसी चढाउन आदेश ।
काठमाडौँ । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज कार्कीको रिट निवेदनमाथि सुनुवाइ गर्दै तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो ।
अदालतले निवेदकले माग गरेको न्यायिक उपचार र अन्तरिम आदेशसँग सम्बन्धित कानुनी प्रश्न रिट निवेदनको अन्तिम सुनुवाइका क्रममा निरूपण तथा सम्बोधन हुने प्रकृतिको देखिएको जनाएको छ । सुविधा सन्तुलनको दृष्टिले पनि हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको आदेशमा उल्लेख छ ।
आदेशमा रिट निवेदन राज्यको शान्ति सुरक्षा तथा प्रहरी सङ्गठनको नेतृत्व र नियन्त्रण प्रणालीसँग सम्बन्धित भएकाले उठाइएका विषयको महत्त्व, गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै छिटो सुनुवाइ र निर्णय गर्नुपर्ने उल्लेख छ ।
“प्रत्यर्थीहरूबाट लिखित जवाफ परेपछि वा पर्ने अवधि व्यतीत भएपछि सात दिनभित्रै पेसी चढाइ पेसी हटाउन नपाउने पूर्वसूचना दुवै पक्षलाई दिई नियमानुसार पेस गर्नू”, आदेशमा भनिएको छ ।
कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतीसकृष्ण खरेल, पूर्णमान शाक्य र डा. दिनमणि पोखरेललगायतले बहस गर्नुभएको थियो ।
नेपाल सरकारका तर्फबाट महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल, नायब महान्यायाधिवक्ता लोकराज पराजुली, खेमराज ज्ञवाली र ध्रुवकुमार चौहानलगायतले बहस गर्नुभएको थियो । रासस
