साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

काठमाण्डू । साहित्यकार मोतीशोभा श्रेष्ठद्वारा लिखित नेपाली, नेपाल भाषा र अङ्ग्रेजी भाषाका पाँच कृति आज एकैसाथ विमोचन गरिएको छ ।    
    
 पूर्वअर्थमन्त्री शङ्कर कोइराला, नेपाल सरकारका पूर्वमुख्यसचिव डा बिमल कोइराला तथा वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले संयुक्त रूपमा ती कृतिको विमोचन गर्नुभएको हो ।    
    
 पूर्वसहसचिवसमेत रहनुभएकी श्रेष्ठका नेपाली भाषाका ‘सपनाको उडान’ कथासङ्ग्रह र ‘यात्राको वेगः अनुभूतिको संवेग’ नियात्रासङ्ग्रह, नेपाल भाषाका ‘रङ्गीचङ्गी स्वांनं छाय्पियातःगु क्यब’ र ‘तक्यंगु सुका’ तथा अङ्ग्रेजी भाषाको ‘मदर हु नेम्ड मी सत्य’ पुस्तक विमोचन गरिएको हो ।    
    
 पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले नेपाली साहित्यको विकासमा श्रेष्ठको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले राष्ट्रसेवक कर्मचारीले अवकाशपछि पनि साहित्य सिर्जनामार्फत समाज र साहित्य क्षेत्रमा योगदान पुर्‍याउनु सकारात्मक भएको उल्लेख गर्नुभयो ।   
    
 कार्यक्रममा पूर्वमुख्यसचिव डा कोइरालाले श्रेष्ठ निरन्तर सिर्जनामा सक्रिय साहित्यकार भएको उल्लेख गर्दै उहाँका कृतिमा विविध विधा र अनुभव समेटिएको बताउनुभयो । ‘सपनाको उडान’ कथासङ्ग्रहमा कथासँगै निबन्धात्मक अनुभूति पनि समेटिएको उहाँको भनाइ थियो ।    
 वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले श्रेष्ठका पाँचवटै कृतिमा सरलता र इमानदारिता झल्किएको बताउनुभयो । अवकाशपछि आठ दशकको उमेरमा समेत साहित्य सिर्जनालाई निरन्तरता दिँदै १७ कृति प्रकाशन गर्नु उल्लेखनीय उपलब्धि भएको उहाँको भनाइ थियो ।    
    
 लेखक श्रेष्ठले ‘सपनाको उडान’ कथासङ्ग्रहमा समाजका विकृति र विसङ्गतिलाई विषयवस्तु बनाइएको जानकारी दिनुभयो । ‘यात्राको वेगः अनुभूतिको संवेग’ नियात्रामा सरकारी सेवामा रहँदा विभिन्न देशको भ्रमणका क्रममा प्राप्त अनुभव समेटिएको उहाँले बताउनुभयो ।    
कार्यक्रममा साहित्यकार ज्ञानेन्द्र विवशले श्रेष्ठका कृतिमा माटोप्रतिको अगाध प्रेम अभिव्यक्त भएको बताउनुभयो भने साहित्यकार भागीरथी श्रेष्ठले उहाँको कथासङ्ग्रहमा सरल र मिठासपूर्ण भाषाशैली रहेको उल्लेख गर्नुभयो ।    
    
 प्राडा सविना श्रेष्ठले कोरोना महामारीको समयदेखि नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आउनुभएकी मोतीशोभाका हालसम्म १७ कृति प्रकाशित भएको जानकारी दिनुभयो । उहाँका अनुसार श्रेष्ठका नेपाली भाषामा १०, नेपाल भाषामा चार र अङ्ग्रेजी भाषामा तीन कृति प्रकाशित छन् ।    
    
 प्राडा सिर्जना श्रेष्ठले साहित्य सिर्जनामा इमानदारिता आवश्यक हुने र त्यो गुण मोतीशोभाका कृतिमा पाइने बताउनुभयो । सो अवसरमा नेपाल भाषा फाउण्डेसनले लेखक श्रेष्ठलाई सम्मान गरेको थियो । फाउण्डेशनका अध्यक्ष मङ्गलमान शाक्यले उहाँलाई सम्मान गर्नुभएको हो । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update