RayNewsDaily
छ हजार शिक्षकको बढुवा विवाद टुङ्ग्याउन आयोग सक्रिय, पुनरावलोकन नतिजा धमाधम सार्वजनिक
शिक्षकको बढुवा तथा नतिजा पुनरावलोकन गर्दै आएको शिक्षक सेवा आयोगको कार्यालय, सानोठिमी, भक्तपुर ।
  • करिब छ हजार शिक्षकको बढुवा उजुरी पुनरावलोकन हुँदै ।
  • ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा नतिजा प्रकाशन ।
  • पदाधिकारी नियुक्तिपछि रोकिएको पुनरावलोकन प्रक्रिया अघि बढ्यो ।

काठमाडौँ । शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब छ हजार शिक्षकको उजुरी पुनरावलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ ।

आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट भएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको योग्यताक्रम सूची प्रकाशन भइरहेको छ ।

‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ (संशोधनसहित) को परिच्छेद १५ अनुसार प्राप्त कागजात र प्रमाण अध्ययन गरी सम्बन्धित जिल्ला तथा तहका शिक्षकको बढुवा नतिजा कायम गरिँदै आएको आयोगले जनाएको छ ।

विभिन्न प्रदेशका शिक्षा विकास निर्देशनालयबाट भएका कार्यसम्पादन मूल्याङ्कनमाथि परेका उजुरी अध्ययन तथा छानबिन गरी पुनरावलोकनको नतिजा प्रकाशन गरिँदै आएको थियो । तर, पछिल्लो छ महिनासम्म आयोगका पदाधिकारी रिक्त रहेकाले पुनरावलोकनको काम रोकिएको थियो ।

आयोगले यसै कात्तिकमा माध्यमिक द्वितीय तहअन्तर्गत इलाम, सुनसरी, झापा र सोलुखुम्बुको तथा गत असोज २९ गते प्राथमिक द्वितीय तहअन्तर्गत लमजुङ, बाग्लुङ, गोरखा, नवलपरासी बर्दघाट सुस्ता पूर्व र कास्कीको पुनरावलोकन नतिजा प्रकाशन गरेको छ ।

नेपाल सरकारले गत भदौ २५ गते आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्सालसहित पदाधिकारी नियुक्त गरेको थियो । गत वैशाख १८ गते जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ का कारण आयोगका पदाधिकारी पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update