- बाढीपहिरोले क्षति पुर्याएका सबै स्थानमा विद्युत् सेवा पुनः सञ्चालन ।
- २५० पोल र तारमा क्षति, मर्मतमा एक करोड ५० लाख रुपैयाँ खर्च ।
- सबैभन्दा प्रभावित पाउद्वारमा शनिबारदेखि विद्युत् आपूर्ति सुरु ।
म्याग्दी । गत महिनाको बाढीपहिरोबाट प्रभावित म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत् आपूर्ति पूर्ववत् भएको छ । नेपाल विद्युत् प्राधिकरणका बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोबाट क्षति पुगेका प्रसारण तथा शाखा लाइनलगायत संरचनाको मर्मत गरी विद्युत् सेवा सञ्चालनमा ल्याएका हुन् ।
प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका-५ स्थित पाउद्वारमा शनिबारदेखि विद्युत् आपूर्ति सुरु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार धेरै स्थानमा दुई-तीन दिनभित्रै विद्युत् सेवा सञ्चालन गरिएको थियो । पाउद्वार, गिवाङ र किन्दु क्षेत्रमा भने चाडपर्वको समयमा समेत कर्मचारी तथा मजदुर परिचालन गरेर मर्मतको काम गरिएको थियो ।
“धेरै ठाउँमा दुई-तीन दिनमै विद्युत् आपूर्ति गराएका थियौँ । पाउद्वार, गिवाङ, किन्दु क्षेत्रमा चाडपर्वको समय पनि नभनी कर्मचारी र मजदुरहरू दसैँको समयमा रातिसम्म परिचालन भयौँ,” उहाँले भन्नुभयो, “कतिपय ठाउँमा वैकल्पिक माध्यम र संरचनाबाट विद्युत् आपूर्ति गराएका छौँ । दोस्रो चरणमा थप मर्मत गरी विद्युत् आपूर्तिलाई नियमित र व्यवस्थित बनाउने प्रयासमा छौँ ।”
म्याग्दी वितरण केन्द्रअन्तर्गतको मिलनचोक सबस्टेसनमार्फत पर्वतको जलजला गाउँपालिकाको मल्लाज र वारीबेनीसहित २४ हजार ४९० ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराइएको छ । तातोपानी वितरण केन्द्रअन्तर्गत अन्नपूर्ण गाउँपालिकाका वडा नं. १, २, ३ र ४ सहित मुस्ताङमा विद्युत् आपूर्ति हुँदै आएको छ ।
बाढीपहिरोले प्राधिकरणको ३३/११ केभी प्रसारण तथा वितरण लाइनका २५० वटा पोल र तिनमा तानिएका तारमा क्षति पुर्याएको थियो । यसबाट कुल एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको बेनी वितरण केन्द्रका प्रमुख गामीले जानकारी दिनुभयो ।
अन्नपूर्ण गाउँपालिकाको राम्चे र हिस्तानमा पर्वतको जलजला गाउँपालिका-५ स्थित लेकफाँटतर्फबाट विद्युत् आपूर्ति गरिएको छ । यसअघि ती क्षेत्रमा महभिरतर्फबाट विद्युत् आपूर्ति हुँदै आएको थियो ।
पाउद्वारमा हेलिकप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत् आपूर्ति गरिएको प्रमुख गामीले बताउनुभयो ।
विद्युत् सेवा पुनः सञ्चालन भएपछि ग्रामीण क्षेत्रको जनजीवन सहज हुन थालेको छ । रासस
