- नेपालका तीन जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत ।
- परियोजनाले प्रकृतिमा आधारित समाधान र पूर्वसूचना प्रणाली सुदृढ गर्ने ।
- भोटेकोशी पुनर्निर्माणका लागि जलवायु वित्त परिचालनबारे आगामी बैठकमा छलफल हुने ।
काठमाडौँ । अनुकूलन कोष (एडाप्टेसन फन्ड) को ४७औँ बोर्ड बैठकले नेपालका तीन जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको छ ।
बैठकमा नेपालका तर्फबाट अनुकूलन कोषका बोर्ड सदस्य नरेश शर्माले सहभागिता जनाउनुभएको थियो । उहाँका अनुसार स्वीकृत परियोजनाले जलवायु परिवर्तनका जोखिममा रहेका समुदायको उत्थानशीलता अभिवृद्धि, प्रकृतिमा आधारित समाधानको प्रवर्द्धन तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बैठकले राष्ट्रिय प्रकृति संरक्षण कोषले कार्यान्वयन गर्ने ‘ग्रीन कोशी’ परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलरको अवधारणापत्र स्वीकृत गरेको छ । उक्त परियोजनाले प्रकृतिमा आधारित समाधानमार्फत जलवायु उत्थानशीलता अभिवृद्धि तथा पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिनेछ ।
त्यसैगरी, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले कार्यान्वयन गर्ने हिन्दुकुश हिमालय क्षेत्रमा अनुकूलन तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्ने ‘सेफ निब’ परियोजनाको ३० करोड अमेरिकी डलर प्रस्तावित बजेटसहित पूर्व-अवधारणापत्र स्वीकृत भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानव बस्ती कार्यक्रम (यूएन-ह्याबिट्याट) ले कार्यान्वयन गर्ने लुम्बिनी प्रदेशमा स्थानीय नेतृत्वमा प्रकृतिमा आधारित जलवायु कार्यमार्फत उत्थानशील समुदाय निर्माण गर्ने परियोजनाको करिब ४९ लाख ९९ हजार अमेरिकी डलरको अवधारणापत्र पनि स्वीकृत भएको छ ।
यसैबीच, भोटेकोशी क्षेत्रमा विपद्पछिको व्यवस्थापन, पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु अनुकूलन वित्त परिचालन गर्ने विषय आगामी बोर्ड बैठकमा छलफल हुने भएको छ ।
बैठकमा समय अभावका कारण उक्त विषयमा निर्णय हुन नसकेपछि आगामी वैशाखमा हुने बोर्ड बैठकमा छलफल तथा निर्णयका लागि एजेन्डा स्वीकृत गरिएको जनाइएको छ । उक्त पहलले भोटेकोशी विपद्बाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस
