RayNewsDaily
नेपालद्वारा चीनको सिजाङमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त
चीनको सिजाङ स्वायत्त क्षेत्रको नाग्चु सहरअन्तर्गत बाकेन काउन्टीको मारु टाउनसिपमा भूकम्प प्रभावित गाउँमा उद्धारकर्मी पुग्दै । बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् । तस्बिर : सिन्ह्वा
  • चीनको सिजाङमा भूकम्पबाट १६ जनाको मृत्यु ।
  • नेपाल सरकारद्वारा चीन सरकार र जनताप्रति समवेदना ।
  • घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावितको पुनःस्थापनाको कामना ।

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको उत्तरी भागमा बिहीबार गएको ७.० म्याग्निच्युडको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । उक्त भूकम्पमा परी १६ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् । भूकम्पका कारण सम्पत्ति तथा पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै विपत्तिमा आफ्ना प्रियजन गुमाएका शोकसन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गरेको छ । मन्त्रालयले चीन सरकार तथा जनताप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मन्त्रालयले विपत्तिबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्दै नेपाल यस कठिन समयमा चीनसँग ऐक्यबद्ध रहेको जनाएको छ ।

“नेपाल यस कठिन समयमा चीनसँग ऐक्यबद्धता व्यक्त गर्दछ र प्रभावित परिवार तथा समुदायका लागि शीघ्र प्रतिकार्य, प्रारम्भिक पुनःस्थापना तथा पुनर्वासको कामना गर्दछ”, विज्ञप्तिमा उल्लेख छ । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  २१:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update