- विजयादशमीको मध्यरातदेखि सुरु भएको जात्रा बिहान सम्पन्न ।
- नवदुर्गा देवगणलाई तलेजुबाट मन्त्रसिद्धि प्रदान गर्ने परम्परा ।
- विगत दुई वर्षदेखि सेतो घोडा जात्रा रोकिएको छ ।
भक्तपुर । विजयादशमीको मध्यरातदेखि भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रा र तलेजु भवानीको वाहन सेतो घोडा जात्रा एकादशीका दिन आज बिहान सम्पन्न भएको छ ।
विजयादशमीका दिनभर ब्रह्मायणी मन्दिरमा जात्रामा सहभागी नवदुर्गा भवानीका देवगण राति भक्तपुरका विभिन्न टोल घुम्दै दरबार स्क्वायर पुगेपछि जात्रा अघि बढेको हो । परम्पराअनुसार बहिनी ब्रह्मायणीले दिदी तलेजु भवानीलाई दर्शन र ढोग गरेपछि मन्त्रसिद्धि प्रदान गर्ने विधिसहित जात्रा सम्पन्न गरिएको हो ।
राति नवदुर्गाका देवगण देवगृह फर्किएपछि तलेजुलाई दरबार स्क्वायरस्थित जगन्नाथ अर्थात् पशुपति मन्दिरको परिक्रमा गराई ढोग गरेर तलेजुको देवगृहमा प्रवेश गराइएको थियो । यससँगै जात्रा बिहान सम्पन्न भएको हो ।
खड्ग जात्राका क्रममा तलेजुसँग सम्बन्धित राजोपाध्यायले पायःद्यो आफ्नो काँधमा बोकेर तलेजुको मूलचोकबाट बेको चोक पुर्याउने परम्परा छ । त्यसपछि सर्वसाधारणले पूजा तथा दर्शन गर्न पाउँछन् ।
तलेजुका पूर्वमूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार बडादसैँको मध्यरातमा तलेजु आगम घरको खँ कुथि कोठामा तान्त्रिक विधिबाट पूजा गरिएका बलिपात्र र शस्त्रास्त्रसहित तलेजुको प्रतिरूप पायःद्यो तयार गरिन्छ । तलेजुका मूल आचाजु र पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा सुरु हुन्छ ।
संस्कृतिविद् प्रकाश कायस्थका अनुसार पायःद्यो जात्रामा तलेजु भवानीको साक्षात् रूप मानिने देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्याउने परम्परा छ ।
राति तलेजुलाई दरबार स्क्वायरस्थित स्वर्णद्वार (गोल्डेन गेट) मा ल्याएपछि पङ्क्तिबद्ध रूपमा प्रतीक्षारत नवदुर्गा देवगणलाई पालैपालो मन्त्रसिद्धि प्रदान गरिन्छ । तलेजु भवानीबाट मन्त्रसिद्धि प्राप्त गरेपछि पायःद्यो जीवित देवता नवदुर्गा देवगणसहित यात्रा मार्गमा अगाडि बढ्ने प्रचलन रहेको संस्कृतिविद् कायस्थले बताउनुभयो ।
चन्द्रमासको तिथि र गतिका आधारमा नगरको माथिल्लो वा तल्लो क्षेत्रमा जात्रा लैजाने परम्परा छ । यस वर्ष तल्लो क्षेत्रमा जात्रा सञ्चालन गरिएको थियो । राति खौमा, इताछे, टेखापुखु, वंशगोपाल र तौमढी पुगेर तलेजुलाई नवदुर्गाले दर्शन गरेपछि नवदुर्गा सिद्ध हुने धार्मिक विश्वासअनुसार जात्रा मनाइएको हो ।
विजयादशमीको राति तलेजु भवानीका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुसार कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि सेतो घोडा जात्रा सुरु हुने परम्परा छ ।
जात्राअघि सेतो घोडालाई एउटा भेडा बलि चढाइन्छ । त्यसपछि तलेजुको मूलचोकबाट घोडालाई बाहिर निकालेर भक्तपुर नगर परिक्रमा गराइन्छ । ब्रह्मायणी र तलेजुलाई नगरका विभिन्न क्षेत्रमा परिक्रमा गराउने क्रममा तलेजुको वाहन सेतो घोडालाई पछि–पछि परिक्रमा गराएर जात्रा मनाउने चलन छ ।
यद्यपि, विगत दुई वर्षदेखि सेतो घोडा जात्रा रोकिएको छ । यसबारे जात्राका आयोजकले आधिकारिक जानकारी दिएका छैनन् । रासस
