- युक्रेनलाई मिसाइल प्रतिरक्षा प्रणाली र पूर्वसूचना व्यवस्था उपलब्ध गराउने विषयमा कुराकानी ।
- स्टारलिङ्क र स्टारसिल्ड सेवा पुनः सञ्चालनमा ल्याउन जेलेन्स्कीको जोड ।
- रुस-युक्रेन द्वन्द्व अन्त्यका लागि कूटनीतिक पहल अघि बढाउने सहमति ।
किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच मङ्गलबार टेलिफोन वार्ता भएको छ । वार्तामा युक्रेनलाई रक्षा सहयोग उपलब्ध गराउने तथा रुस-युक्रेन द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास अघि बढाउने विषयमा छलफल भएको जेलेन्स्कीले बताउनुभएको छ ।
जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै वार्ताका क्रममा ब्यालेस्टिक मिसाइल रोक्ने प्रतिरक्षा प्रणाली उपलब्ध गराउने र रुसी ब्यालेस्टिक मिसाइल आक्रमणबारे पूर्वसूचना दिने व्यवस्था गर्ने विषयमा कुराकानी भएको जानकारी दिनुभएको छ । त्यसैगरी, स्टारलिङ्क र स्टारसिल्ड सेवा पुनः सञ्चालनमा ल्याउनुपर्ने आवश्यकताबारे पनि छलफल भएको उहाँले उल्लेख गर्नुभएको छ ।
जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा समेत दुवै नेताबीच कुराकानी भएको जेलेन्स्कीले बताउनुभयो ।
युक्रेनलाई सहयोग गर्न देखाएको तत्परता र स्पष्ट अडानका लागि उहाँले रुबियोलाई धन्यवाद दिनुभएको छ । टेलिफोन वार्तालाई ‘अर्थपूर्ण’ र ‘रचनात्मक’ भन्दै जेलेन्स्कीले पछिल्लो अवस्थाबारे जानकारी आदानप्रदान गर्न दुवै नेता छिट्टै पुनः कुराकानी गर्न सहमत भएको जानकारी दिनुभएको छ ।
यसअघि आइतबार जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरसँग शान्ति प्रक्रियाबारे छलफल गर्नुभएको थियो । रुस-युक्रेन द्वन्द्व अन्त्यका लागि कूटनीतिक पहल जारी रहेका बेला युक्रेनले आफ्नो रक्षा क्षमता सुदृढ गर्न अमेरिकासँग सहयोग मागिरहेको छ । सिन्ह्वा
