RayNewsDaily
सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
  • आप्रवासन नियन्त्रण र अपराधमा संलग्नलाई निष्कासन गर्न ट्रम्पको आग्रह ।
  • फ्रान्ससहित युरोपका विभिन्न देशको अशान्तिलाई आप्रवासनसँग जोडे ।
  • बोर्डोमा लुटपाटपछि नाबालिगलाई राति बाहिर निस्कन प्रतिबन्ध ।

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिनुभएको छ । उहाँले फ्रान्ससहित विभिन्न युरोपेली देशमा देखिएको अशान्तिको मुख्य कारण आप्रवासन भएको दाबी गर्नुभएको छ ।

ह्वाइट हाउस बाहिर सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्सको समस्या शिक्षा वा घरेलु नीतिसँग नभई आप्रवासनसँग सम्बन्धित रहेको बताउनुभयो । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई सीमा बन्द गर्न आफूले वर्षौंअघि नै सुझाव दिएको उहाँले उल्लेख गर्नुभयो ।

“फ्रान्समा जे भइरहेको छ, त्यो निकै दुःखद छ । यसको कारण आप्रवासन हो, विद्यालय वा अरू कुनै विषय होइन”, ट्रम्पले भन्नुभयो । आफ्नो देशको संस्कृति, कला र सम्पत्तिप्रति सम्मान नराख्ने मानिसलाई प्रवेश दिएकाले फ्रान्सले समस्या भोगिरहेको उहाँको दाबी थियो ।

ट्रम्पले पेरिसको जनसाङ्ख्यिक संरचनामा परिवर्तन भइरहेको उल्लेख गर्दै म्याक्रोनलाई सीमा नीतिबारे पटकपटक सचेत गराएको बताउनुभयो । अमेरिकाले आफ्नो सीमा बन्द गरेको तर फ्रान्सले त्यसो नगरेको उहाँको भनाइ थियो । फ्रान्सले ऊर्जा क्षेत्रमा केही समस्या भोगिरहेको भए पनि अन्य देशको तुलनामा त्यहाँको अवस्था राम्रो रहेको उहाँले दाबी गर्नुभयो ।

युरोपको भविष्यबारे सोधिएको प्रश्नमा ट्रम्पले सीमा नियन्त्रण र आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई निष्कासन गर्नुपर्नेमा जोड दिनुभयो । “युरोपले आफ्ना सीमा बन्द गरेन र अपराधीहरूलाई निष्कासन गरेन भने युरोप समाप्त हुनेछ”, उहाँले भन्नुभयो । आफ्नो देशलाई घृणा गर्ने व्यक्तिलाई निष्कासन नगरे युरोपको अस्तित्व नै सङ्कटमा पर्ने उहाँको दाबी थियो ।

ट्रम्पले फ्रान्स र इटालीसहित विभिन्न युरोपेली देशमा देखिएको अशान्तिलाई पनि आप्रवासनसँग जोड्नुभयो । भवन, कला र मानिसप्रति सम्मान नराख्ने व्यक्तिका कारण समस्या बढेको दाबी गर्दै उहाँले सीमा बन्द गर्न र त्यस्ता व्यक्तिलाई निष्कासन गर्न आग्रह गर्नुभयो ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले अशान्तिका कारणबारे ऊर्जा सङ्कट र अमेरिकी नीतिका व्यापक भूराजनीतिक प्रभावतर्फ सङ्केत गर्नुभएको सन्दर्भमा ट्रम्पको टिप्पणी आएको हो ।

यसैबीच, फ्रान्सको बोर्डो सहरको केन्द्रमा सप्ताहान्तमा गम्भीर अशान्ति र व्यापक लुटपाट भएपछि स्थानीय अधिकारीहरूले अभिभावकविहीन नाबालिगलाई एक सातासम्म रातिको समयमा बाहिर निस्कन प्रतिबन्ध लगाएका छन् । उक्त घटनापछि ट्रम्पले फ्रान्सको आप्रवासन नीतिको आलोचना गर्दै आफ्नो धारणा दोहोर्‍याउनुभएको हो । एएनआई

प्रकाशित मिति: मंगलबार, कात्तिक ३, २०८३  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update