- अनुयायीलाई भोकै बसेर मर्न बाध्य पारेको अभियोगमा दोषी ठहर ।
- सन् २०२३ मा साकाहोला जङ्गलबाट ४०० भन्दा बढी शव फेला परेका थिए ।
- म्याकेन्जीको सजाय नोभेम्बर ६ मा सुनाइने ।
नैरोबी । अनुयायीहरूलाई येशूलाई भेट्न भोकै बसेर मर्न बाध्य पारेको अभियोगमा केन्याली धर्मगुरु पास्टर पल म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर हुनुभएको छ । सन् २०२३ मा उहाँका अनुयायी बस्ने क्षेत्रमा ४०० भन्दा बढी शव फेला परेका थिए ।
न्यायाधीश डायना काभेद्जाले गुड न्यूज इन्टरनेसनल चर्चका नेता म्याकेन्जीले अनुयायीहरूलाई मृत्युसम्म उपवास बस्न बाध्य पार्ने योजनाबद्ध प्रणाली सञ्चालन गरेको ठहर गर्नुभयो । अदालतका अनुसार सुरुमा बालबालिकालाई भोकै बस्न लगाइएको थियो । खाना खान वा भाग्न खोज्नेहरूलाई रोक्न सुरक्षाकर्मी खटाइएको र उनीहरूलाई कुटपिटसमेत गरिएको थियो ।
म्याकेन्जीले अनुयायीहरूलाई शिक्षा र स्वास्थ्य सेवाबाट टाढा रहन निर्देशन दिनुभएको थियो । चिकित्सा उपचारलाई ‘शैतानको साधन’ का रूपमा प्रस्तुत गरिएको न्यायाधीशले बताउनुभयो ।
सन् २०२३ मा केन्याको तटीय किलिफी काउन्टीस्थित साकाहोला जङ्गलका उथला चिहानबाट ४०० भन्दा बढी शव निकालिएका थिए । घटनापछि म्याकेन्जी र उहाँकी श्रीमतीसहित दर्जनौँ व्यक्तिमाथि अभियोग लगाइएको थियो । म्याकेन्जीले भने आफूमाथिका आरोप अस्वीकार गर्दै अनुयायीहरूलाई भोकै बस्न बाध्य नपारेको दाबी गर्नुभएको थियो ।
घटनामा आमा, दाइ र दुई भतिजा गुमाउनुभएका विलियम पोन्डा न्गालाले फैसलाले राहत दिएको बताउनुभयो । उहाँले यस फैसलाले भविष्यमा धार्मिक नेताबाट हुने अनुयायीको शोषण रोक्न सन्देश दिने आशा व्यक्त गर्नुभयो ।
सन् २०२५ को अप्रिलमा पुनरावेदन अदालतले म्याकेन्जी र सहअभियुक्तहरूविरुद्ध १९१ वटा हत्या अभियोग अघि बढाउन अनुमति दिएको थियो । यसअघि उच्च अदालतले अभियोग १२ वटामा सीमित गर्न निर्देशन दिए पनि पुनरावेदन अदालतले कानूनले अभियोगको सङ्ख्या नतोकेको ठहर गरेको थियो ।
म्याकेन्जीको सजाय निर्धारणसम्बन्धी सुनुवाइ अक्टोबर ३० मा हुने र सजाय नोभेम्बर ६ मा सुनाइने तय भएको छ । एपी
