RayNewsDaily
भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार, पढाइ दिने भन्दै देहरादुन लैजाँदै गरेको खुलासा
  • भारतको वनबासाबाट २५ नेपाली बालबालिकाको उद्धार ।
  • हुम्लाका २४ र अछामका एक बालबालिका, उमेर ६ देखि १६ वर्ष ।
  • पढाइ दिने भन्दै देहरादुन लैजाँदै गरेको अवस्थामा भेटिए ।

काठमाडौँ । पढाइ दिने भन्दै भारतको देहरादुन लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ ।

भारतको वनबासामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उनीहरूको उद्धार गरेको राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ । परिषद्ले विज्ञप्ति जारी गर्दै उद्धार गरिएका बालबालिकाको उमेर ६ देखि १६ वर्षसम्म रहेको जानकारी दिएको छ ।

उद्धार गरिएका बालबालिकामध्ये हुम्लाको सिमकोट गाउँपालिकाका २४ जना र अछामका एक जना छन् । उनीहरूमध्ये १६ जना बालक र नौ जना बालिका रहेका छन् । पढाइ दिने भन्दै भारतको देहरादुनतर्फ लैजाँदै गरेको अवस्थामा उनीहरूलाई भारतीय सीमा सुरक्षा बलले रोकेको थियो । त्यसपछि बालबालिकालाई नेपाल प्रहरीको जिम्मा लगाइएको जनाइएको छ ।

नेपालको संविधानको धारा ३९ को उपधारा (५) ले बालबालिकालाई गैरकानुनी रूपमा ओसारपसार गर्न नपाइने मौलिक हकको व्यवस्था गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ को उपदफा (२) को खण्ड (ख) मा अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी वा शक्तिको दुरुपयोग गरी विदेशमा लैजाने वा अरू कसैलाई दिने कार्यलाई मानव ओसारपसार मानिने व्यवस्था छ ।

त्यस्तो गैरकानुनी कार्य गर्नेलाई नेपालभित्रै भए एक वर्षदेखि दुई वर्षसम्म र विदेशमा लगेको भए दुई वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

बालबालिकासम्बन्धी ऐन, २०७५ ले पनि बालबालिकालाई आफ्ना बाबुआमाबाट अलग गर्न नपाइने र पारिवारिक वातावरणमा हुर्कन पाउने अधिकार सुनिश्चित गरेको छ ।

सरकारी निकायको स्वीकृतिबिना बालबालिकालाई गैरकानुनी रूपमा विदेश लैजाने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न र उद्धार गरिएका बालबालिकालाई सुरक्षित रूपमा परिवारसँग पुनर्मिलन गराउन राष्ट्रिय बाल अधिकार परिषद्ले सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update