RayNewsDaily
दसैँमा च्याङ्ग्राको भाउ ५० हजारसम्म, मूल्य बढ्दा उपभोक्ता मारमा
  • बागलुङमा रोज्जा च्याङ्ग्राको मूल्य ५० हजार रुपैयाँसम्म ।
  • गत वर्षको तुलनामा च्याङ्ग्राको आयात घट्यो, माग भने बढ्दो ।
  • मुस्ताङबाट १३ हजार ८१७ भेडाच्याङ्ग्रा अन्य जिल्लामा निकासी ।

बागलुङ । दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने प्रचलन छ । सोही कारण बागलुङ बजारमा च्याङ्ग्राको माग बढेको छ । मूल्य बढे पनि मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको व्यापार राम्रो भइरहेको व्यापारीले बताएका छन् ।

घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै बागलुङमा च्याङ्ग्रा भित्रिएका हुन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको मूल्य रु ४५ हजारदेखि ५० हजारसम्म पर्ने गरेको छ ।

डोल्पा र मुस्ताङबाट २५ दिनको पैदलयात्रा गरेर च्याङ्ग्रा बिक्रीका लागि बागलुङ आइपुग्नुभएका तेन्जिङ तार्के तामाङले यस वर्ष पनि माग नघटेको बताउनुभयो । उहाँले डोल्पा र मुस्ताङबाट २०० च्याङ्ग्रा ल्याउनुभएको थियो । तीमध्ये १०० वटा बागलुङमा बिक्रीका लागि राखिएको छ भने १०० वटा पोखरा पठाइएको छ ।

“बागलुङमा बिक्री नभए सबै पोखरा पुग्छन् । हाम्रो मुख्य बजार भनेको पोखरा हो”, तामाङले भन्नुभयो, “तीन वर्षदेखि च्याङ्ग्राको कारोबार गर्दै आएको छु । दसैँको समयमा बागलुङ र पोखराका लागि डोल्पा र मुस्ताङबाट च्याङ्ग्रा ल्याउँछु । अहिले पनि गोठमै रु ३७ हजारसम्म मूल्य परेको छ । माग भने घटेको छैन । दसैँअघि बिक्री गरिसक्ने योजना छ ।”

उहाँका अनुसार गोठबाटै रु ३२ हजारदेखि ३७ हजारसम्ममा च्याङ्ग्रा खरिद गरेर ल्याउने गरिएको छ । हिमपातका कारण यसपटक च्याङ्ग्रा ल्याउन समस्या भएको उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्राको आयात कम भएकाले व्यापार बढ्ने उहाँको आकलन छ ।

बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसैँलाई लक्षित गरी प्रतिकिलो रु दुई हजार २०० मा च्याङ्ग्राको मासु बिक्री गरिरहेको बताउनुभयो । यसपटक मूल्य बढेकाले थोरै मात्र च्याङ्ग्रा ल्याएको उहाँको भनाइ छ ।

यस वर्ष बडादसैँलाई लक्षित गरी मुस्ताङबाट कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्यवृद्धि तथा बाढीपहिरोका कारण मुस्ताङको सडक लामो समय अवरुद्ध हुँदा च्याङ्ग्राको आयात प्रभावित भएको व्यापारी बताउँछन् ।

हिमाली क्षेत्रमा पाइने जडीबुटी खाने भएकाले च्याङ्ग्राको मासु स्वादिलो र स्वास्थ्यका लागि फाइदाजनक हुने विश्वास गरिन्छ । त्यसैले बडादसैँ र तिहारमा यसको खपत बढी हुने गरेको व्यापारी बताउँछन् । दसैँमा उपभोक्ताले मासुका लागि भेडाच्याङ्ग्रा खोज्ने भएकाले घटस्थापनाको भोलिपल्टदेखि हिमालपारिबाट च्याङ्ग्रा ल्याउन थालिएको हो ।

व्यापारी थापाका अनुसार स्थानीय खसीबोकाको मासु बढी खपत भइरहेको छ । दसैँमा च्याङ्ग्राको मासु खाने परम्परा भए पनि मूल्यवृद्धिका कारण सबै उपभोक्ताले किन्न सक्ने अवस्था छैन ।

“अहिले रोज्जा च्याङ्ग्राकै मूल्य रु ५० हजारसम्म पर्न जान्छ”, थापाले भन्नुभयो, “मुस्ताङको छोसेर, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरेका छन् ।”

हिमाली क्षेत्रमा पालिएका भेँडाच्याङ्ग्राले लेकाली जडीबुटी खाने भएकाले तिनको मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको भनाइ छ । चाडपर्वका लागि मुस्ताङबाट च्याङ्ग्रा हिँडाएर बागलुङ हुँदै पोखरा लैजाने गरिएको छ ।

मुस्ताङबाट यस वर्ष १३ हजार ८१७ भेडाच्याङ्ग्रा म्याग्दी, बागलुङ हुँदै पोखरा र काठमाडौँ निकासी भएका छन् । अहिलेसम्म ११ हजार ७०० च्याङ्ग्रा र दुई हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरी अन्य जिल्लामा पठाइएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update