RayNewsDaily
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास   

म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिका–९ ढोल्ठानमा स्वयंसेवकहरूले श्रमदान गरेर पहिरो प्रभावितहरूका लागि अस्थायी आवास निर्माण गरेका छन् ।    
    
यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि गएको पहिरोले ढोल्ठानका रामचन्द्र परियार र रेखा दर्जीको घर बगाएको थियो । घर गुमाएर समस्यामा परेका दुवै परिवारका लागि साहारा समूहका स्वयंसेवकको श्रमदान र स्थानीयवासीको सहयोगमा अस्थायी आवास निर्माण गरिएको हो ।     
    
साहारा समूहका संयोजक प्रकाश पौडेलले दिवाकर गोल्छा फाउन्डेसनले उपलब्ध गराएको जस्तापाताले छाएर काठ र ढुङ्गामाटोको प्रयोग गरेर दुईवटा घर निर्माण गरेको बताउनुभयो । घर निर्माणका लागि काठजन्य सामग्री स्थानीयवासीले सहयोग गरेका थिए ।    
    
समूहका १५ जना युवाले १० दिनसम्म श्रमदान गरेर अस्थायी आवास बनाएका हुन् । विपद्का कारण घरबारविहीन भएका परिवारलाई तत्काल बसोबासको व्यवस्था मिलाउने उद्देश्यले आवास निर्माण गरिएको उहाँले बताउनुभयो ।    
    
त्यसैगरी, बाढीपहिरोबाट प्रभावित अन्य परिवारलाई समेत सहयोग गर्ने उद्देश्यले म्याग्दीको मङ्गला गाउँपालिकामा पनि थप अस्थायी आवास निर्माणको काम अघि बढाइएको संयोजक पौडेलले बताउनुभयो ।    
    
असोज दोस्रो साता परेको अविरल वर्षापछि म्याग्दीका विभिन्न बस्तीमा बाढीपहिरोले घर, सडक, खानेपानीलगायतका संरचनामा क्षति पुर्याएको छ । विपद्बाट प्रभावित परिवारलाई पुनःस्थापना गर्न स्थानीयवासी, विभिन्न सङ्घसंस्था र सहयोगी निकायले राहत तथा पुनर्निर्माणका काम गरिरहेका छन् । रासस   

 

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update