म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका कमला बानियाँ थापाले जलजला गाउँपालिका–३ पर्वत बेनीमा सञ्चालन गरेको ‘थापा लोकल मार्ट’मा दुई वर्षअघि सम्म स्थानीय ग्राहक मात्रै आउँथे ।
म्याग्दी, मुस्ताङ र पर्वतका हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने विभिन्न रैथाने वस्तु पाइने थापाको पसलका सामान अहिले विदेशसम्म पुग्न थालेको छ । “सामाजिक सञ्जाल ‘टिकटक’ र ‘फेसबुक’मा लाइभ बसेर सामान देखाउन थालेपछि ग्राहकको पहुँच बढेको मात्र छैन, कारोबार र आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ,” उहाँले भन्नुभयो, “यसअघि बेनी र मल्लाज क्षेत्रका सीमित ग्राहक आउँथे ।”
थापा जस्तै रातो च्याउ, टिमुर, सिलटिमुर, जिम्बु, सिमी, भट्ट, मह, भाँगो, दाल, बदाम र भिरमहलगायत म्याग्दीका स्थानीय उत्पादनको बिक्री गर्ने म्याग्दीका उद्यमीका लागि सामाजिक सञ्जाल सहयोगी बनेको छ ।
“फेसबुक र टिकटकमार्फत सामानको प्रचार गर्न थालेपछि बजार निकै फराकिलो भयो”, सञ्चालक थापाले भन्नुभयो, “पहिला यहाँका स्थानीय उपभोक्तामै सीमित थियौँ । अहिले सामान भए ग्राहकको कमी छैन ।”
दश वर्ष म्याग्दीको गैरसरकारी संस्था र पाँच वर्ष सहकारीको प्रबन्धक भएर काम गरेकी थापाले विसं २०७७ मा आफ्नै घरमा सुरु गरेको व्यवसाय सञ्चालनका लागि ज्ञान, सीपको कमीले घाटा ब्यहोर्नु परेको सम्झनुहुन्छ ।
गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाले सञ्चालन गरेको वृद्धिमुखी उद्यमशीलता कार्यक्रममा सहभागी भएपछि नयाँ अनुभव प्राप्त भयो । अध्ययन भ्रमण र तालिमका कारण व्यवसायको शैली परिवर्तन गरेपछि सफलता मिलेको थापाले सुनाउनुभयो ।
कृषक र उद्यमीबाट ल्याएको सामान उहाँले ‘फेसबुक पेज’ र ‘टिकटक’मार्फत सार्वजनिक गर्नुहुन्छ । सामाजिक सञ्जालमा राखिएका उत्पादनका तस्बिर तथा भिडियो हेरेर सामान खरिद गर्न आउँछन् । उहाँका अनुसार बेलायत, अमेरिका र अष्ट्रेलियामा रहेका नेपालीले समेत सामाजिक सञ्जालमार्फत सामानको माग गर्न थालेका छन् ।
स्थानीय ग्राहक आफैँ पसलमा आएर सामान लैजाने गरेका छन् । देशका विभिन्न सहरमा कुरियरमार्फत सामान पठाउने गरिएको छ । विदेशमा रहेका ग्राहकका आफन्त पसलमा आएर सामान खरिद गर्ने गरेका छन् ।
सामाजिक सञ्जालकै कारण पसलसम्म आउने ग्राहकको सङ्ख्यासमेत बढेको थापाको अनुभव छ । “सामाजिक सञ्जालमा पसल र सामान देखेर गाडी लिएर पसल हेर्न आउने ग्राहक पनि हुनुहुन्छ”, उहाँले भन्नुभयो ।
हाल थापा लोकल मार्टबाट वार्षिक रु ३५ देखि ४० लाखसम्मको कारोबार हुने गरेको छ । सबै खर्च कटाएर वार्षिक रु सात लाखसम्म बचत हुने गरेको थापा बताउनुहुन्छ ।
व्यवसायमा उहाँका श्रीमान् खुमबहादुर थापा र दुई छोराछोरीले सहयोग गर्दै आएका छन् । कामको चाप बढेका बेला स्थानीय मजदुरलाई समेत आंशिक रोजगारी दिने गरिएको छ ।
“पहिला बजार खोज्दै सामान बेच्नुपथ्र्यो, अहिले ग्राहकले नै सामान खोज्दै सम्पर्क गर्नुहुन्छ”, थापाले भन्नुभयो, “सामाजिक सञ्जालले हाम्रो व्यवसायलाई नयाँ बजार दिएको छ ।” स्थानीय किसान तथा उत्पादकबाट सामान खरिद गर्ने भएकाले गाउँमा उत्पादन भएका वस्तुले बजार पाउने र उत्पादकले आफ्नो उत्पादनबाट आम्दानी गर्ने अवसर बढेको छ ।
स्थानीयस्तरमा उत्पादन हुने वस्तुलाई आकर्षक ढङ्गले प्रस्तुत गरेर सामाजिक सञ्जालमार्फत सम्भावित ग्राहकसम्म पु¥याउन सके साना उद्यमले पनि ठूलो बजार पाउन सक्ने थापाको अनुभव छ ।
“महिला आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ । त्यसका लागि आफ्नो सीप र क्षमतालाई निरन्तर परिमार्जन गर्दै उद्यमशीलतामा लाग्न आवश्यक छ”, उहाँले भन्नुभयो, “इच्छाशक्ति, मेहनत र प्रविधिको सही प्रयोग गर्न सके गाउँमा राम्रो आम्दानी गर्न सकिन्छ ।”
व्यवसायलाई अझ व्यवस्थित बनाउँदै नेपालका अन्य ठाउँमा समेत विस्तार गर्ने थापाको योजना छ । सामाजिक सञ्जालको पहुँचलाई थप विस्तार गर्दै म्याग्दी, मुस्ताङ र पर्वतमा उत्पादन हुने थप रैथाने वस्तुलाई बजारमा ल्याउने उहाँको लक्ष्य छ ।
गाउँका उत्पादनलाई गाउँमै सीमित नराखी ‘डिजिटल’ माध्यमबाट देश–विदेशका उपभोक्तासम्म पु¥याउने थापाको प्रयासले सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम मात्र नभई स्थानीय उत्पादनको बजारीकरण र साना उद्यमको विस्तार गर्ने प्रभावकारी साधन बन्न सक्ने उदाहरण प्रस्तुत गरेको छ । रासस
