- बाढीको उद्गमस्थलदेखि तटीय क्षेत्रसम्म स्थलगत अध्ययन गरिने
- जलवायु परिवर्तनको भूमिका वैज्ञानिक रूपमा मूल्याङ्कन गरिने
- समितिलाई अध्ययनका लागि दुई महिनाको समय
काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी बाढीको वैज्ञानिक कारण र घटनाक्रम पत्ता लगाउन सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो ।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार समितिमा जलविद् डा नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा हरि पण्डित र विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहनुभएको छ ।
समितिले बाढीको सम्भावित उद्गमस्थलदेखि भोटेकोशी/ल्हेन्दे नदी प्रणाली हुँदै सम्पूर्ण तटीय क्षेत्रसम्म स्थलगत अध्ययन गर्नेछ । घटनाको वास्तविक कारण, घटनाक्रम तथा उच्च हिमाली क्षेत्रमा देखिएका भूगर्भीय, हिमनदीय र जलविज्ञानसम्बन्धी जोखिमबीचको अन्तरसम्बन्ध अध्ययन गरिने मन्त्रालयले जनाएको छ ।
प्रवक्ता शाक्यका अनुसार रसुवा-भोटेकोशीको घटनालाई सामान्य बाढीका रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न विभिन्न जोखिम क्रमशः जोडिँदै विकसित भएको सम्भावित ‘शृङ्खलाबद्ध विपद्’ का रूपमा अध्ययन गरिनेछ ।
यसअघि जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको प्रारम्भिक अध्ययनमा बाढीको उत्पत्ति, त्यसको भौतिक प्रक्रिया र भोटेकोशी-ल्हेन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलिएको घटनाक्रमबारे पर्याप्त वैज्ञानिक प्रमाण पुष्टि नभएको जनाएको थियो ।
त्यसैले जलवायु परिवर्तनलाई घटनाको कारणका रूपमा निष्कर्ष निकाल्नुअघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक अध्ययन आवश्यक रहेको केन्द्रले सुझाव दिएको थियो ।
मन्त्रालयका अनुसार अध्ययन तीन चरणमा हुनेछ । पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि नदी प्रणाली र तटीय क्षेत्रसम्मको घटनाक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिनेछ । यस क्रममा हिमनदी, चट्टान तथा माटोको ढलान अस्थिरता, पहिरो, लेदो, नदीको बहाव र बाढीबीचको अन्तरसम्बन्ध अध्ययन हुनेछ ।
दोस्रो चरणमा घटनाका तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गरिनेछ । तेस्रो चरणमा मानवजनित जलवायु परिवर्तनले यी जोखिमको सम्भावना, तीव्रता वा पूर्वतयारी अवस्थामा कति प्रभाव पारेको थियो भन्ने वैज्ञानिक मूल्याङ्कन गरिनेछ ।
अध्ययनमा मौसम तथा जलवायु, जलप्रवाह, हिमनदी तथा हिममण्डल, भूगर्भ, भूरूपविज्ञान, पहिरो, नदी जलयान्त्रिकी, रिमोट सेन्सिङ, जिआईएस तथा विपद् जोखिम व्यवस्थापनसम्बन्धी तथ्याङ्क प्रयोग गरिनेछ ।
घटनास्थलमा चट्टानको अवस्था, चिरा तथा कमजोर भूभाग, ढलानको स्थिरता, पहिरोको सम्भावना, नदीको आकृति तथा अवसादको बहावमा भएको परिचालनसमेत अध्ययन गरिनेछ । आवश्यकताअनुसार ड्रोन र स्याटेलाइट अवलोकनसमेत प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।
अध्ययनका क्रममा घटना अघिको वर्षा, तापक्रम, हिमपात, हिउँ पग्लने अवस्था तथा उच्च हिमाली क्षेत्रको जलवायुगत अवस्थाको विश्लेषण गरिनेछ । दीर्घकालीन तापक्रम र वर्षाको प्रवृत्ति, चरम वर्षा, नदीको बहाव, हिमनदीको आकार तथा परिवर्तन, हिमताल र स्थायी तुषारभूमिको अवस्थासमेत अध्ययन गरिनेछ ।
भोटेकोशी/ल्हेन्दे नदी प्रणालीको सीमापार प्रकृतिलाई ध्यानमा राख्दै चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जलवैज्ञानिक सूचनासमेत अध्ययनमा समेटिने मन्त्रालयले जनाएको छ ।
समितिलाई अध्ययनका लागि दुई महिनाको समय दिइएको छ । अध्ययनपछि प्राप्त वैज्ञानिक प्रमाणका आधारमा घटनाको प्रकृति र उत्पत्तिबारे निष्कर्ष निकालिने तथा बाढीलाई उपयुक्त वैज्ञानिक नाम दिने योजना मन्त्रालयले बनाएको छ ।
अध्ययनबाट प्राप्त निष्कर्षले आगामी दिनमा हिमाली क्षेत्रमा उत्थानशील विकास, पूर्वाधार योजना तथा विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक आधार तयार गर्ने मन्त्रालयको अपेक्षा छ । रासस
