- कृष्णभीरमा नयाँ ट्रयाक निर्माण सम्पन्न ।
- असोज १ देखि दुईतर्फी यातायात सञ्चालन हुने ।
- पहिरो र लेदोको जोखिम न्यूनीकरणका लागि तयारी ।
कमलकुमार बस्नेत/काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत नागढुङ्गा-मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सञ्चालन भइरहेको छ भने आगामी असोज १ गतेदेखि पूर्ण रूपमा दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले यही भदौ १७ गते सङ्घीय संसद्मा सम्बोधनका क्रममा रसुवाको बाढीबाट क्षतिग्रस्त कृष्णभीर खण्ड भदौभित्रै सञ्चालनमा ल्याउने बताउनुभएको थियो । सोहीअनुसार पूर्वाधार विकास मन्त्रालयले उक्त खण्डमा ट्रयाक खोल्ने काम सुरु गरेको हो ।
सडक विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा-नौबिसे-मुग्लिन सडकखण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढीका कारण सडकखण्डमा क्षति पुगेपछि पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको थियो ।
मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस)को सहयोगमा चार दिनसम्म स्थलगत प्राविधिक अध्ययन गरेको थियो । अध्ययनपछि विज्ञहरूले कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउने विकल्प अघि सारेका थिए ।
“विभागले विज्ञहरूबाट विभिन्न सुझाव लिएर भदौ १९ गतेदेखि रुख कटान सुरु गरेको थियो । कृष्णभीर क्षेत्रमा ३५ मिटर उचाइ र पहाडको भित्रतर्फ २० मिटर खनेर ट्रयाक निर्माण भइसकेको छ”, इन्जिनियर पौडेलले भन्नुभयो ।
उहाँका अनुसार ट्रयाक निर्माणमा प्राविधिकसहित ५० जनाले दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर काम गरिरहेका छन् ।
काम सुरु भएको १०औँ दिन अर्थात् भदौ २८ गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेटसहित केही सवारीसाधन सञ्चालन भइसकेका छन् । अहिले पनि बिहान र बेलुकाको समयमा अत्यावश्यक यातायातका साधन सञ्चालन भइरहेका छन् ।
हाल उक्त सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । संयोजक पौडेलका अनुसार भदौ ३१ गतेसम्म ग्राभेलको काम पूरा हुनेछ र असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ ।
नयाँ ट्रयाक सञ्चालनमा आएपछि माथिबाट पहिरो वा हिलो-लेदो खसेर पुनः यातायात अवरुद्ध हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिएको छ । पहिरो आएमा तत्काल हटाउन आवश्यक उपकरण तयारी अवस्थामा राखिएको पौडेलले बताउनुभयो ।
विभागका अनुसार पानीसहितको लेदो आएर ग्राभेल बिगार्न सक्ने अवस्थालाई ध्यानमा राख्दै थप ग्राभेल सामग्री मौज्दात राखिएको छ । पहाडभित्रबाट पानी सिपेज भएर सडकमा आउन सक्ने जोखिम कम गर्न ‘सर्फेस ड्रेनेज’को व्यवस्था गरिएको छ । माटोभित्रबाट आउने पानी सडकको संरचनामा प्रवेश गर्नुअघि उचित निकासमार्फत नालीमा पठाउने व्यवस्था पनि भइरहेको छ ।
कृष्णभीरमाथिको पहाडमा केही चिरा देखिएकाले ती चिराबाट पानी भित्र पस्न नदिन पनि तयारी भइरहेको छ । चिरालाई उपलब्ध प्रविधि तथा रासायनिक पदार्थ प्रयोग गरी सिल गर्ने र प्लास्टिकले छोपेर पानी प्रवेश गर्न नदिने उपाय अपनाइनेछ ।
कृष्णभीरको जोखिमलाई मध्यनजर गरी सडकखण्डको वैकल्पिक मार्गका रूपमा बेनीघाटदेखि फिस्लिङसम्मको करिब २० किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम पनि अघि बढाइएको छ । उक्त सडकलाई यात्रुवाहक सवारीसाधन वैकल्पिक रूपमा सञ्चालन गर्न मिल्ने गरी तयारी गरिएको छ ।
नयाँ ट्रयाकमा रातिको समयमा यात्रा सुरक्षित बनाउन सडक विभागले स्थानीय तहसँग समन्वय गरी बत्तीको व्यवस्था गर्ने तयारी गरेको छ । टल्किने स्टिकरलगायत ट्राफिक सुरक्षा सामग्री पनि राखिनेछन् ।
हाल निर्माणका क्रममा बिहान करिब ६ देखि ७ बजेको बीचमा र बेलुका ६ देखि ७ बजेको बीचमा सवारीसाधनलाई आवतजावत गर्न दिइँदै आएको छ । अत्यावश्यक अवस्थामा निर्माण कार्य रोक्दै सवारीसाधनलाई पास गराउने व्यवस्था गरिएको छ । रातिको समयमा भने सडक पूर्ण रूपमा बन्द गरिएको छ ।
यही भदौ १० गते भोटेकोशीमा गएको बाढीले कृष्णभीरको ‘सुरक्षा पर्खाल’मा क्षति पुर्याएको थियो । भदौ १४ गते गएको अर्को बाढीले उक्त पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो । रासस
