- ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी ।
- जलवायु सङ्कटमा तीन तहका सरकारबीच सहकार्यमा जोड ।
- सम्मेलनबाट साझा घोषणापत्र जारी गरिँदै ।
सुन्दरकुमार थकाली/मुस्ताङ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गर्ने एक वर्षअघिदेखिको घरपझोङ गाउँपालिकाको सपना पूरा भएको छ । जलवायु परिवर्तनको असर नेपालमा मात्र नभई विश्वभर परिरहेको अवस्थामा आयोजना गरिएको सम्मेलनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरबाट समेत चासोका साथ हेरिएको छ ।
गत वर्ष भदौको अन्तिममा आयोजना गर्ने तयारी गरिएको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ जेनजी आन्दोलनका कारण स्थगित भएको थियो । जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेको हिमाली जिल्ला मुस्ताङमा सम्मेलन गर्नुपर्ने जिल्लावासी तथा घरपझोङ गाउँपालिकाका जनप्रतिनिधिको एकमतका कारण सम्मेलन आयोजना सम्भव भएको हो ।
सम्मेलन जलवायु सङ्कटका मुद्दा उठान गर्ने मञ्चमा मात्र सीमित रहेन । यसले मुस्ताङमा एकैसाथ सातै प्रदेशका सयौँ स्थानीय तहका जनप्रतिनिधिलाई एउटै मञ्चमा सहभागी गराएको छ ।
जलवायु परिवर्तनबाट परेको असरका विषयलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म पुर्याउने लक्ष्यसहित गाउँपालिकाले सङ्घीय मामिला मन्त्रालयको समन्वयमा ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको थियो । सम्मेलनमा ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका पदाधिकारी सहभागी हुनुभएको छ ।
धार्मिक, सामाजिक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिएको मुस्ताङ सामरिक दृष्टिले समेत महत्त्वपूर्ण भूभागका रूपमा रहँदै आएको छ । सम्मेलनमा सहभागी पाहुनाको आवास तथा खानपान व्यवस्थापन चुनौतीपूर्ण रहे पनि यहाँका होटल व्यवसायीले न्यानो आतिथ्यता प्रदान गरेका थिए ।
सम्मेलनमा सहभागी अधिकांशले प्रसिद्ध मुक्तिनाथको दर्शन गर्नुका साथै मुस्ताङका स्याउ बगैँचा र प्राकृतिक सौन्दर्यको अवलोकन गर्ने अवसरसमेत प्राप्त गर्नुभयो । सम्मेलन उद्घाटनअघि पालिका भवनबाट स्थानीय रहनसहन, वेशभूषा तथा सांस्कृतिक चहलपहल झल्कने झाँकीसहितको प्रभातफेरी सम्मेलनस्थल कभर्डहल पुगेको थियो ।
सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौती सामना गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहले सम्मेलन सफलताको कामना गर्दै पठाउनुभएको शुभकामना सन्देश वाचन गरिएको थियो । यसअघि गाउँपालिका उपाध्यक्ष जमुना थकालीले सम्मेलन आयोजना गर्नुपर्ने कारणबारे सहभागीलाई जानकारी गराउनुभएको थियो ।
सम्मेलनमा प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीलगायत प्रदेश, जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालमा परेको असरबारे आफ्ना अनुभव र धारणा प्रस्तुत गर्नुभयो ।
उद्घाटन सत्रलगत्तै सुरु भएको प्राविधिक सत्रमा विषयविज्ञ सहसचिव हरिप्रसाद शर्मा, प्रा. डा. विनोद दवाडी, विज्ञ डा. कृष्णचन्द्र देवकोटा र सहसचिव गणेशप्रसाद भट्टले जलवायु परिवर्तनले पारेको असरसम्बन्धी विषयगत कार्यपत्र प्रस्तुत गर्नुभयो ।
त्यसपछि भएको समूहगत छलफलमा पालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका प्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालको हिमाली क्षेत्रमा मात्र नभई स्वास्थ्य, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समेत परेको असरबारे गहन विश्लेषण गर्नुभयो ।
सम्मेलनको अन्त्यमा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ को साझा घोषणापत्र जारी गरिने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो । रासस
