- अपहरणमा परेको १२ दिनपछि १५ महिने बालकको सकुशल उद्धार ।
- दशगज्जा क्षेत्रबाट बालकको उद्धार, एक महिला पक्राउ ।
- अपहरण तथा मानव बेचबिखनसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइयो ।
जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट १२ दिनअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
भदौ १८ गते अपहरणमा परेका बिदेह नगरपालिका-६ निवासी कमलेश महतोका १५ महिने छोरा सिद्धान्त महतोलाई गएराति सोही नगरपालिका-१ स्थित दशगज्जा क्षेत्रबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
बालकलाई छाडेर भाग्दै गरेको अवस्थामा कमला नगरपालिका-९ निवासी पुनितादेवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।
बालक अपहरणमा परेको सूचना पाएलगत्तै तालिम प्राप्त कुकुरसहित प्रहरीको टोलीले खोजतलास तथा अनुसन्धान गर्दै जाँदा बालक राखिएको स्थानमा पुगेको र प्रहरीलाई देखेपछि बालकलाई छाडेर भाग्न खोज्दा महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सकुशल उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाइएको छ । पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस
