RayNewsDaily
पर्यटक भिसामा स्वास्थ्य शिविर सञ्चालन गर्ने १० जना विदेशी नागरिक पक्राउ
  • मोरङमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोप ।
  • ब्राजिल, क्यानडा र अमेरिकाका नागरिक पक्राउ ।
  • विदेशी नागरिकको कागजात जफत गरी अध्यागमन विभाग पठाइयो ।

काठमाडौँ । पर्यटक भिसामा नेपाल आएर आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृह मन्त्रालयका अनुसार मोरङको कानेपोखरी गाउँपालिका-७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधिको प्रचारमा संलग्न रहेको भनिएको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूका कागजात जफत गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको मन्त्रालयले जनाएको छ । कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा १० जना विदेशी नागरिक सहभागी थिए । शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेका थिए । स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि पास्टर बाङ्देलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएको जनाइएको छ ।

मोरङको कानेपोखरी, बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माण गर्ने उद्देश्यले तीन कट्ठा जग्गामा छ वटा साना-ठूला भवन निर्माण गरेको बताइएको छ । ती भवन हाल धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग भइरहेको विषयमा विवाद सुरु भएपछि स्थानीयलाई खुसी पार्न श्रेष्ठले स्वास्थ्य शिविर आयोजना गरेको जनाइएको छ ।

हाल उक्त स्थानमा दुई जना पास्टर र केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएको पाइएको छ । शिविरमा सहभागी १० विदेशी नागरिकमध्ये तीन जना ब्राजिल, दुई जना क्यानडा र पाँच जना अमेरिकाका नागरिक रहेको जनाइएको छ । उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेका थिए । उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको बताइएको छ । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update