RayNewsDaily
तीजमा पशुपतिनाथमा बढ्यो महिला भक्तजनको घुइँचो
  • १० बजेपछि पशुपतिनाथमा भक्तजनको चाप बढ्यो ।
  • रातो पहिरनमा सजिएका महिला भक्तजनको लाम ।
  • दिउँसो ३ बजे प्रथम महिला सविता पौडेलले पूजा गर्ने ।

काठमाडौँ । तीजका अवसरमा आराध्यदेव भगवान् श्री पशुपतिनाथ मन्दिरमा बिहान १० बजेपछि भक्तजनको चाप बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बिहान ९ बजेसम्म भक्तजनको सङ्ख्या सीमित रहेकोमा १० बजेपछि क्रमशः चाप बढेको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले राससलाई जानकारी दिनुभयो । बिहान आधा घण्टामै दर्शन गरेर फर्कन सकिने अवस्था रहेकामा १० बजेपछि भने भक्तजनले लाम बस्नुपर्ने अवस्था आएको ललितपुर चापागाउँबाट आउनुभएकी दर्शनार्थी रञ्जिता शर्माले बताउनुभयो ।

बिहानै पानी परेको र पानी रोकिएपछि पनि बादल लागेका कारण भक्तजनको सङ्ख्या कम भएको संस्कृति संरक्षण महाशाखाका बिसेट नायके अरुण श्रेष्ठले जानकारी दिनुभयो ।

यस वर्ष भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकाले शोकका कारण पनि शिवालयमा आउने भक्तजनको सङ्ख्या घटेको जनाइएको छ ।

पशुपति क्षेत्रका विभिन्न स्थानमा रातो पहिरनमा सजिएका महिला भक्तजनको लाम लागेको छ । छिटो दर्शन गरेर फर्कनुपर्ने भक्तजनका लागि कोषले सःशुल्क टिकटको व्यवस्था गरेको छ । एक हजार रुपैयाँको टिकट लिएर हतार हुने भक्तजनले दर्शन गरेर फर्कन सक्ने व्यवस्था गरिएको छ । उक्त टिकट दिनभर काटेर दर्शन गर्न सकिने कोषले जनाएको छ ।

तीजका अवसरमा दिउँसो ३ बजे प्रथम महिला सविता पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्नुहुने कार्यक्रम रहेको सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो । अन्य विशिष्ट व्यक्तिको दर्शनका विषयमा भने अहिलेसम्म कुनै जानकारी नआएको कोषले जनाएको छ ।

तीजका अवसरमा राजधानीका गोकर्णेश्वर, नागेश्वर, त्रिपुरेश्वर, वसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वरलगायत काठमाडौँ उपत्यकाका ठूला तथा साना शिवालयमा पनि भक्तजनको लाम लागेको छ ।

यसैगरी देशका विभिन्न स्थानमा रहेका ठूला तथा साना शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि महिला भक्तजनको घुइँचो रहेको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १५:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update