- तीजको अवसरमा बिहानदेखि मन्दिर खुला ।
- दर्शन गर्न महिलाको बाक्लो सहभागिता ।
- साँझ चारधाम क्षेत्रमा महाआरती हुँदै ।
ख्वप (भक्तपुर) । भक्तपुर दरबार स्क्वायरस्थित केदारनाथ मन्दिर हरितालिका तीजको अवसरमा पहिलोपटक सर्वसाधारणका लागि आज खुला गरिएको छ । तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापित उक्त मन्दिर केदारनाथको दर्शनका लागि आज खुला गरिएको संस्कृति अध्येता गणेश रञ्जितकारले बताउनुभयो ।
मन्दिरका पुजारी प्रमिलराज सुवेदीका अनुसार यसअघि केदारनाथको जन्मोत्सव बुद्धजयन्ती अर्थात् वैशाख पूर्णिमा र महाशिवरात्रिको दिन वर्षमा दुईपटक मात्रै मन्दिर खुल्ने गरेको थियो ।
तीजमा व्रत बसेका सर्वसाधारणलाई दर्शनका लागि सहज तुल्याउन बिहानदेखि मन्दिर खुला गरिएको हो । मन्दिर खुला भएसँगै दर्शनका लागि पुग्ने महिलाको सहभागिता बाक्लो देखिएको छ । मन्दिर दिनभर खुला रहने जनाइएको छ ।
स्थानीय सबिना बोहजुले पहिलोपटक उक्त मन्दिरभित्र प्रवेश गरी दर्शन गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले विसं २०७२ को भूकम्पमा मन्दिर भत्किएपछि भित्र रहेको महादेवको मन्दिर बाहिरबाटै दर्शन गर्दै आएको र आज भित्रै गएर दर्शन गर्ने अवसर मिलेको बताउनुभयो ।
भक्तपुर सम्पदा संरक्षण समूहका संयोजक सत्यराम सुवालले हरितालिका तीज २०८३ को अवसरमा दरबार स्क्वायरमै रहेको प्रसिद्ध चारधाम क्षेत्रमा एकैसाथ भव्य तथा दिव्य महाआरती गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार तीजको दिन चारधाम क्षेत्रमा एकैपटक र एकै समयमा महाआरती सञ्चालन गरिनेछ । धार्मिक तथा आध्यात्मिक महत्व बोकेको कार्यक्रममा तीजको व्रत बसेका तथा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ ।
सुवालले तीजको दिन साँझ आयोजना हुने महाआरतीमा सहभागी भई कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सफल बनाउन सम्पूर्ण श्रद्धालु भक्तजनमा हार्दिक निमन्त्रणा गर्नुभएको छ । रासस
