- अर्थमन्त्री वाग्लेले सोमबारसम्म बजार सुधारको कार्ययोजना ल्याउने ।
- नेप्से २७.९४ अंकले बढेर २५५९ अंकमा कायम ।
- कारोबार रकम बढेर ४ अर्ब ३५ करोड रुपैयाँ पुग्यो ।
रे समाचार/काठमाडौँ । अघिल्ला दुई दिन लगातार घटेको सेयर बजार शुक्रबार २७.९४ अंकले बढेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबारसम्म सेयर बजार सुधारका लागि कार्ययोजना ल्याउने आश्वासन दिएपछि बजार बढेको हो ।
शुक्रबार बिहान नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले सोमबारसम्म बजार सुधारका लागि कार्यक्रम सार्वजनिक गर्ने बताउनुभएको थियो ।
आज नेप्से परिसूचक १.१० प्रतिशत बढेर २५५९ अंकमा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको छ ।
आज २३७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको घटेको छ । ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सबै समूहगत सूचक बढेका छन् ।
बैंकिङ समूह ०.७८, विकास बैंक १.०५, फाइनान्स ०.४६, होटल तथा पर्यटन ०.९६, जलविद्युत् १.८३, लगानी १.५८, जीवन बीमा ०.९७, उत्पादन तथा प्रशोधन ०.७७, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा १.७२, अन्य ०.४२ तथा व्यापार समूह १.४० प्रतिशतले बढेको छ ।
उपकार लघुवित्तको सेयर मूल्य १०.५३ प्रतिशत, अभियान लघुवित्तको १०.०९ प्रतिशत, सिन्धु विकास बैंकको ९.५४ प्रतिशत, सर्वोत्तम पेन्ट्सको ८.०४ प्रतिशत तथा राप्ती हाइड्रोको ६.१८ प्रतिशतले बढेको छ ।
त्यस्तै मल्टिपर्पस फाइनान्सको सेयर मूल्य ५.७१ प्रतिशत, इमर्जिङ नेपालको ४.२१ प्रतिशत तथा ओम मेगाश्री फर्मास्युटिकल्सको ४ प्रतिशतले घटेको छ ।
आज धेरै कारोबार हुने कम्पनीमा लिबर्टी इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर तथा शिवश्री हाइड्रोपावर रहेका छन् ।
