RayNewsDaily
चीनको सिचाङ स्वायत्त प्रदेशद्वारा नेपाललाई बेली ब्रिज निर्माणका सामग्रीसहित आपत्कालीन सहायता हस्तान्तरण

रे समाचार/काठमाण्डू । चीनको सिचाङ (Tibet) स्वायत्त क्षेत्रले बाढीपहिरो प्रभावित नेपालका लागि पठाएको आपत्कालीन राहत सामग्री आज (शुक्रबार) नेपाललाई हस्तान्तरण गरेको छ। चीनको शिगात्सेस्थित रिजी बन्दरगाहमा आयोजित कार्यक्रममा बेली ब्रिज निर्माणका सामग्रीसहितको सहायता नेपाललाई हस्तान्तरण गरिएको हो।

हस्तान्तरण गरिएका सामग्रीमा बेली प्यानल, प्रबलित सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ तथा आई–बिमलगायतका सामग्री छन्। यी सामग्रीबाट दुईवटा बेली ब्रिज निर्माण गर्न सकिने बताइएको छ।

नेपालका बाढीपहिरो प्रभावित क्षेत्रमा क्षतिग्रस्त यातायात सम्पर्क पुनःस्थापित गर्न तथा उद्धार र राहत कार्यलाई सहज बनाउन ती सामग्री प्रयोग गरिने जनाइएको छ।

रिजी बन्दरगाहमा आयोजित हस्तान्तरण कार्यक्रममा चिनियाँ र नेपाली भाषामा लेखिएको ‘साझा हिमाल, साझा नदी–सुखदुःखमा एकताबद्ध’ भन्ने सन्देशसहितको ब्यानर राखिएको थियो। विपद्को समयमा दुई देशका जनता र क्षेत्रबीचको पारस्परिक सहयोग र ऐक्यबद्धताको प्रतीकका रूपमा उक्त सन्देश प्रस्तुत गरिएको थियो।

यसै दिन ल्हासामा सिचाङ स्वायत्त क्षेत्रको परराष्ट्र मामिला कार्यालय र ल्हासास्थित नेपाली महावाणिज्यदूतावासबीच पनि सहायता हस्तान्तरणसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपालका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाली पक्षका तर्फबाट हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

कार्यक्रममा नेपाली पक्षले विपद्पछि चीनले गरेको शीघ्र सहयोगप्रति हार्दिक आभार व्यक्त गरेको थियो। सिचाङ स्वायत्त क्षेत्रले उपलब्ध गराएको समयमै गरिएको सहयोगले साझा हिमाल र नदीले जोडिएका दुई क्षेत्रबीचको मित्रता तथा विपद्को समयमा एकअर्कालाई सहयोग गर्ने सम्बन्धलाई थप उजागर गरेको नेपाली पक्षले जनाएको थियो।

यस सहयोगलाई चीन–नेपाल साझा भविष्यको समुदाय निर्माणको अवधारणालाई व्यवहारमा उतार्ने महत्वपूर्ण उदाहरणका रूपमा समेत प्रस्तुत गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  २२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update