रे समाचार/काठमाण्डू । रसुवामा गत भदौ १० गते गएको बाढीपहिरोबाट प्रभावित नागरिकका लागि चीनबाट २७ टन राहत सामग्री काठमाण्डू आइपुगेको छ। चीनको चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) को पहलमा पठाइएको राहत सामग्री बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।

सीएफआरडीका अनुसार चीन सरकारका सम्बन्धित निकाय तथा चिनियाँ दूतावासको समन्वय र चाइना सदर्न एयरलाइन्सको निःशुल्क ढुवानी सहयोगमा पहिलो चरणको राहत सामग्री नेपाल ल्याइएको हो। सामग्री रसुवा बाढीपहिरोबाट प्रभावित नागरिकको तत्कालीन आवास तथा आधारभूत जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले पठाइएको हो।
पहिलो चरणमा "१७५ थान टेन्ट, १ हजार थान कम्बल, १ हजार थान कपासका कोट, १ हजार थान मानवीय आपत्कालीन राहत बाकस र ६ हजार थान मेडिकल प्याकिङ ब्याग" गरी कुल २७ टन सामग्री ल्याइएको सीएफआरडीले जनाएको छ। राहत सामग्रीको मूल्य १० लाख युआनभन्दा बढी रहेको जनाइएको छ।

सीएफआरडीका अनुसार नेपालमा राहत सामग्री आइपुगेपछि नेपाल सरकारको विपद् राहत समितिको निर्देशनअनुसार ती सामग्री रसुवा पठाइनेछ। प्रभावित परिवारको "खाना, लत्ताकपडा तथा आवासको आवश्यकता पूरा गर्न" तथा स्थानीय उद्धार र आकस्मिक प्रतिकार्य टोलीलाई सहयोग गर्न सामग्री प्रयोग गरिनेछ।
यसअघि सीएफआरडीको नेपाल कार्यालयले बाढीपहिरो प्रभावित क्षेत्रको प्रारम्भिक अध्ययन तथा मूल्यांकन गरी नुवाकोटलगायत क्षेत्रमा स्थानीय साझेदारसँगको समन्वयमा राहत सामग्री वितरण थालेको जनाएको छ। नुवाकोट उद्धार केन्द्रलाई "१४ थान टेन्ट, ५०० खाद्यान्न प्याकेज, ५०० परिवारका लागि जीवनयापन सामग्री र ५ हजार सौर्य बत्ती" उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको फाउन्डेसनले जनाएको छ।
सीएफआरडीका अनुसार राहत सामग्री चिनियाँ उद्यम तथा व्यक्तिहरूको सहयोगमा जुटाइएको हो। राहत सामग्री संकलन तथा प्याकिङमा विभिन्न चिनियाँ संस्थाले सहयोग गरेका थिए भने चाइना सदर्न एयरलाइन्सले चीनबाट नेपालसम्म सामग्री निःशुल्क ढुवानी गरेको जनाएको छ।
सीएफआरडीले सन् २०१५ को भूकम्पपछि नेपालमा मानवीय सहायता तथा पुनर्निर्माणका काम गर्दै आएको जनाएको छ। त्यसयता संस्थाले नेपालमा सामुदायिक विकास, युवा तालिम, स्वच्छ खानेपानी तथा कृषि विकासलगायतका क्षेत्रमा काम गर्दै आएको दाबी गरेको छ। जाजरकोट, सिन्धुपाल्चोक र गोरखामा भएका विपद्का समयमा समेत आपत्कालीन सहायता उपलब्ध गराएको संस्थाले जनाएको छ।
सीएफआरडीले पछिल्लो राहत अभियानलाई नेपाल–चीनबीच विपद् व्यवस्थापन, मानवीय सहायता र समुदायको विपद् प्रतिरोधी क्षमता अभिवृद्धिमा सहकार्य गर्ने निरन्तर प्रयासको एउटा हिस्सा भएको जनाएको छ।
