RayNewsDaily
हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा
  • हदबन्दीले घरजग्गा व्यवसाय प्रभावित ।
  • निर्माण र रोजगारीमा समेत असर ।
  • हदबन्दी खुकुलो पार्न व्यवसायीको माग ।

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले बताएका छन् ।

नेपाल जग्गा तथा आवास विकास महासङ्घ र नेपाल चेम्बर अफ कमर्सद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालको आर्थिक विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको व्यवस्थित घरजग्गा व्यवसाय हदबन्दीका कारण सङ्कटमा पर्दै गएको बताइएको हो ।

नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष इन्जिनियर दीपक कुँवरले २०७६ सालदेखि लागू भएको जग्गा हदबन्दीसम्बन्धी व्यवस्थाले व्यवसायीलाई मर्का परेको बताउनुभयो ।

“हदबन्दीको नियमले कुनै पनि कम्पनीले ३० रोपनीभन्दा बढी जग्गा राख्न नपाउने व्यवस्था गरेको छ । उक्त व्यवस्थाका कारण २०७६ अगाडि जग्गा किनेर अपार्टमेन्ट बनाइएका सयौँ कम्पनीले घर बनाएर अर्कालाई बिक्रीवितरण गर्न पाएका छैनन् । यसले व्यवसायीलाई समस्या सिर्जना गरेको छ”, उहाँले भन्नुभयो ।

घरजग्गा व्यवसायीका अनुसार जग्गा किनेर विकास गरी घर वा अपार्टमेन्ट बनाएर बिक्री गर्नु उनीहरूको मुख्य काम हो । जग्गा उनीहरूका लागि ‘स्टक’ जस्तै भएको र यसमा हदबन्दी लगाउँदा व्यापारिक चक्र नै रोकिएको अध्यक्ष कुँवरले बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मलहोत्राले घरजग्गा व्यवसाय रोकिँदा यससँग जोडिएका अन्य सयौँ उद्योग पनि प्रभावित भएको बताउनुभयो ।

“घर निर्माणका लागि चाहिने डण्डी, सिमेन्ट, बालुवा, काठ, रङ उद्योगको खपत घटेको छ भने अदक्ष कामदारदेखि इन्जिनियरसम्मको रोजगारीमा प्रत्यक्ष असर परेको छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ उपाध्यक्ष मलहोत्राले बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर घरजग्गामा लगानी गरेका व्यवसायीले जग्गा बिक्री गर्न नपाउँदा बैङ्कको ब्याज मात्र तिरिरहनुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो ।

नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले सहरीकरणलाई व्यवस्थित बनाउन र ठूला सहरको विकासका लागि ३० रोपनीको हदबन्दी व्यावहारिक नभएको बताउनुभयो ।

उहाँले हदबन्दी खुकुलो पार्न र व्यावसायिक प्रयोजनका लागि जग्गा खरिदबिक्रीमा सहजीकरण गर्न माग गर्नुभयो । हदबन्दीको समस्या समाधान भएमा बैङ्क तथा वित्तीय संस्थाको कर्जा असुली हुने, नयाँ आयोजना सुरु हुने र देशको अर्थतन्त्र फेरि चलायमान हुने उहाँले बताउनुभयो ।

घरजग्गा तथा निर्माण प्रदर्शनी असोज १ गतेदेखि

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी-२०८३’ आगामी असोज १ देखि ४ गतेसम्म हुने भएको छ ।

नेपाल जग्गा तथा आवास विकास सङ्घ, नेपाल जग्गा तथा आवास विकास महासङ्घको आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनी आयोजना हुन लागेको हो ।

प्रदर्शनीमा नेपालका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतबाट समेत गरी १०० भन्दा बढी कक्ष रहने आयोजकले जनाएको छ । सबै कक्ष बुकिङ भइसकेको मेलाका संयोजक रोशन भोयधोले जानकारी दिनुभयो ।

प्रदर्शनीमा अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङ तथा फोहोर व्यवस्थापनलगायतका सामग्री तथा प्रविधि राखिने संयोजक भोयधोले बताउनुभयो ।

आयोजकका अनुसार यसपटक प्रदर्शनीलाई वातावरणमैत्री बनाउन डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क तथा भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरिनेछ । यसबाट प्रदर्शनीलाई ‘पेपरलेस’ बनाउने लक्ष्य राखिएको छ ।

सुरक्षित, व्यवस्थित तथा वैज्ञानिक बस्ती विकासमार्फत दिगो सहरीकरण प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको संयोजक भोयधोले बताउनुभयो ।

प्रदर्शनी अवधिमा भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुशास्त्रसम्बन्धी विज्ञबाट निःशुल्क परामर्श उपलब्ध गराइनेछ । त्यस्तै, रक्तदान कार्यक्रम तथा ओम हस्पिटल र ग्राण्डी इन्टरनेसनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ ।

रसुवाका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेज उपलब्ध गराइने पनि आयोजकले जनाएको छ ।

सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको प्रदर्शनीले भूकम्प, कोभिड महामारी तथा आर्थिक शिथिलताका बाबजुद निरन्तरता कायम राखेको आयोजकले जनाएको छ । यसपटकको प्रदर्शनीमा ६५ हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update