- चितवनबाट दैनिक १५ हजार सिलिन्डर बोटलिङ ।
- उपत्यकामा ग्यासको माग एक लाख पुग्यो ।
- बुधबार ५३ हजार ४६९ सिलिन्डर पठाइयो ।
चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । राजधानीमा एलपी ग्यासको माग बढेपछि चितवनसहित नवलपरासी (बर्दघाट-सुस्तापूर्व), मकवानपुर, बारा, पर्सा र धनुषाका उद्योगले दैनिक १४ घण्टासम्म बोटलिङ गरेर उपत्यकामा ग्यास पठाइरहेका छन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेतीका अनुसार चितवनका बाबा, साइबाबा, नेपाल ग्यास गण्डकी, नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को जानकी तथा धनुषाको नेपाल ग्यास र नारायणीले दैनिक दुई सिफ्टमा करिब १५ हजार सिलिन्डर बोटलिङ गरिरहेका छन् ।
उहाँका अनुसार ती प्लान्टमा रहेका २४ वटा बोटलिङ उपकरणबाट एक मिनेटमा २४ सिलिन्डर भर्ने गरिएको छ ।
धनुषाको नोबेल, बाराका वान (एनएल), जगदम्बा, लियो र अम्बर ग्यास, पर्साका सुप्पर र मनोज, मकवानपुरको साहरा ग्यास तथा नवलपरासीको चन्डेश्वरी ग्यासले समेत बोटलिङ गरेर सिलिन्डर उपत्यका पठाइरहेका छन् ।
ती उद्योगले दैनिक करिब १० हजार सिलिन्डर भर्ने गरेका छन् । तीमध्ये आधा स्थानीय बजारमा पठाउने र बाँकी काठमाडौँ पठाउने गरिएको बताइएको छ ।
कालाखेतीले ट्रक व्यवस्थापनदेखि बुलेटमा ग्यास मगाएर बोटलिङ गरी बजार पठाउनेसम्मको काममा सबै उद्योगी सक्रिय रहेको बताउनुभयो ।
सामान्य अवस्थामा उपत्यकामा दैनिक ४० हजार सिलिन्डर माग हुने गरेकामा अहिले करिब एक लाख सिलिन्डरको माग रहेको छ । बुधबार ५३ हजार ४६९ सिलिन्डर काठमाडौँ पठाइएको थियो । यो सङ्ख्या दैनिक तलमाथि हुने गरेको बताइएको छ ।
चितवनमा भरिएका सिलिन्डर हेटौँडा हुँदै काठमाडौँ पठाइएका छन् । साँघुरो सडक, सवारीको उच्च चाप र बेलाबेलामा खस्ने पहिरोका कारण ढुवानीमा समस्या भइरहेको छ । रासस
