RayNewsDaily
भोटेकोशी बाढीपछि राष्ट्रपति पौडेलको सम्बोधन : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ
  • विपत्तिमा परेकालाई राज्यको साथ र भरोसा आवश्यक ।
  • पीडितका गुनासालाई समाधानको सङ्केतका रूपमा लिन आग्रह ।
  • खोजी, उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन जोड ।

रे समाचार/काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र जीविकोपार्जनका आधार गुमाएका नागरिकको पीडा अत्यन्त गहिरो रहेकाले अहिले उनीहरूलाई राज्यको साथ र भरोसा आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा नलिई समस्या समाधानका लागि प्राप्त महत्वपूर्ण सङ्केतका रूपमा बुझ्न सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्नुभएको छ ।

भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरी काठमाडौँ फर्किएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बाढीपीडितको उद्धार, खोजी, राहत, पुनर्निर्माण र पुनःस्थापनाका सबै कामलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सरकारबाट स्थानीय तहलगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय भइरहेकोमा आफू विश्वस्त रहेको बताउनुभयो ।

उहाँले गहिरो शोक र पीडाबाट गुज्रिरहेको यस कठिन घडीमा आफू नागरिकमाझ केही भन्न उपस्थित भएको उल्लेख गर्दै दुःखको यस घडीमा आफू पनि सबैको साथमा रहेको बताउनुभयो ।

“यस प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो छ । अहिले उनीहरूलाई राज्यको साथ चाहिएको छ, भरोसा चाहिएको छ र सरकार, राजनीतिक दल एवं सम्पूर्ण नागरिक सङ्घसंस्था त्यसका लागि क्रियाशील छन् भन्ने मैले ठानेको छु,” राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य भएको बताउनुभयो । पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा नभई समाधानका लागि प्राप्त महत्वपूर्ण सङ्केतका रूपमा ग्रहण गर्न सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले अहिलेको गहिरो पीडा कम गर्न सक्ने शब्द आफूहरूसँग नभएको उल्लेख गर्दै परिवारका सदस्य तथा साथीभाइको खबरको प्रतीक्षामा रहेकाहरूलाई खोजी तथा उद्धारकार्य निरन्तर जारी रहनेमा विश्वस्त पार्नुभयो । उहाँले नागरिकले भोगिरहेको अनिश्चितताको पीडा सिङ्गो राष्ट्रले महसुस गरिरहेको बताउनुभयो ।

उद्धार गरिएका प्रत्येक व्यक्तिका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा अन्य जोखिममा रहेका र विशेष संरक्षण आवश्यक पर्ने नागरिकप्रति विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले अस्थायी आश्रयस्थल सुरक्षित तथा मर्यादित हुनुपर्नेमा पनि विशेष रूपमा सचेत र संवेदनशील रहन आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले नेपाली तथा विदेशी नागरिकका परिवारजनलाई यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउन तथा आफ्ना प्रियजनलाई घर फर्काउन आवश्यक सहजीकरण र मानवीय सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभयो । विपत्तिमा ज्यान गुमाएकाप्रति मर्यादा, सम्मान र करुणापूर्ण व्यवहार सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“मृतकहरूको पहिचान अत्यन्त सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गरिनुपर्दछ । आवश्यकतानुसार डिएनए नमूना तथा अन्य सम्बन्धित अभिलेखहरू सुरक्षित रूपमा संरक्षण गरी पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिने नै छ भन्ने मलाई विश्वास छ,” राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले नेपालले यतिबेला कहालिलाग्दो प्राकृतिक प्रकोपको सामना गर्नुपरेको उल्लेख गर्नुभयो । २०८३ भदौ १० गते हिमनदीको बरफ तथा चट्टानसहितको हिमपहिरो खसेर आएको विनाशकारी बाढीले नेपाली जनतामाथि अकल्पनीय पीडा ल्याएको तथा यसले असङ्ख्य मानव जीवन, घरपरिवार र जीविकोपार्जनका आधार बगाउनुका साथै सडक, पुल, जलविद्युत् आयोजनालगायत महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको उहाँले बताउनुभयो ।

“आज सम्पूर्ण राष्ट्र यस भयावह विपत्तिको शोकमा छ । यो विपत्तिमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण नागरिकप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य यथाशीघ्र सफल होस् भन्ने कामना गर्दछु,” राष्ट्रपति पौडेलले भन्नुभयो ।

विपत्तिमा प्रत्यक्ष रूपमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा उद्धार र राहतमा संलग्न सम्पूर्ण व्यक्ति र संस्थाप्रति उहाँले उच्च सम्मान व्यक्त गर्नुभयो ।

उद्धारकार्यमा संलग्न धेरैले आफ्नो ज्यानको समेत पर्वाह नगरी पीडित तथा प्रभावित नागरिकको उद्धारका लागि जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले उनीहरूको अदम्य साहस, समर्पण र सेवाभाव नेपालको उत्कृष्ट मानवीय भावना र राष्ट्रिय चरित्रको प्रतिनिधित्व गर्ने बताउनुभयो ।

“कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र अस्थिर एवं जोखिमपूर्ण परिस्थिति हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धारकार्यलाई अवरुद्ध गर्ने वा परित्याग गर्ने कारण बन्नुहुँदैन,” उहाँले भन्नुभयो ।

नेपालमा कार्यरत, पर्यटक, हिमाली क्षेत्रमा पदयात्रामा रहेका वा आध्यात्मिक यात्राका क्रममा नेपालमा रहेका विदेशी नागरिकले पनि यस विपत्तिमा ज्यान गुमाएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले उनीहरूप्रति श्रद्धाञ्जली तथा परिवारजनमा नेपालका तर्फबाट समवेदना व्यक्त गर्नुभयो ।

नेपालले आफ्नो भूमिमा रहेका प्रत्येक व्यक्तिलाई आफ्नै परिवारको सदस्यका रूपमा मान्ने उल्लेख गर्दै उहाँले प्रभावित नागरिक भएका सम्बन्धित देशका सरकार तथा कूटनीतिक नियोगसँग सहकार्य गर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले कठिन घडीमा नेपाललाई तत्काल खोजी तथा उद्धार जनशक्ति, प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली तथा आवश्यक उपकरण उपलब्ध गराई सहयोग गर्ने छिमेकी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायका सदस्यप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

नेपालले विगतमा पनि भूकम्प, बाढी, पहिरो, महामारी तथा अन्य विभिन्न विपत्तिको सामना गर्दै आएको स्मरण गर्दै उहाँले प्रत्येक पटक नेपाली जनताले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढताका साथ कठिन परिस्थितिको सामना गर्दै आएको बताउनुभयो ।

“म सम्पूर्ण राजनीतिक दलहरू, निर्वाचित जनप्रतिनिधिहरू, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न सङ्घसंस्थाहरू, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकहरूलाई यस कठिन घडीमा एकताबद्ध भएर उभिन हार्दिक आह्वान गर्दछु,” राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले यो विभाजन र एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद तथा टकरावमा अल्झिने समय नभएको बताउनुभयो । अहिले राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको उहाँको भनाइ थियो ।

“यो समय पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो । हामी पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ,” राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले यस विपत्तिले हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था देखाउनुका साथै निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराएको बताउनुभयो ।

“म अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु,” राष्ट्रपति पौडेलले भन्नुभयो ।

साथै उहाँले भगवान्ले सबैलाई यस अप्रत्याशित तथा भयानक विपत्तिको सामना गर्दै त्यसबाट पार पाउन आवश्यक शक्ति र साहस प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update