RayNewsDaily
नागरिकको विश्वास जित्ने कांग्रेस बनाउँछु : सभापति थापा
  • नागरिकका मुद्दालाई प्राथमिकता दिँदै कांग्रेसलाई वैचारिक नेतृत्वको संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता ।
  • सङ्गठन आधुनिक बनाउने र युवादेखि किसानसम्मलाई सामाजिक आन्दोलनमा जोड्ने योजना ।
  • विपत्तिबाट प्रभावित परिवारसँग जोडिएर दसैँ मनाउन नेता-कार्यकर्तालाई आग्रह ।

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्र र भरोसायोग्य संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले कांग्रेसलाई वैचारिक तथा सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रूपमा अघि बढाउने बताउनुभयो ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको नवनिर्वाचित सभापतिको शपथग्रहणपछि सम्बोधन गर्दै उहाँले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीका प्रमुख आधार बनाउने बताउनुभयो ।

“आगामी चार वर्षमा पार्टीका आन्तरिक गतिविधिभन्दा नागरिकका मुद्दा र समस्यालाई प्राथमिकता दिने छौँ । कांग्रेसलाई आजको नेपाली समाजका प्रश्नको जवाफ दिन सक्ने वैचारिक नेतृत्वका रूपमा अघि बढाउने र सङ्गठनलाई आधुनिक बनाउने छौँ”, उहाँले भन्नुभयो ।

युवादेखि किसानसम्मलाई सामाजिक आन्दोलनमा जोड्ने योजना रहेको उल्लेख गर्दै सभापति थापाले पार्टीभित्र सहमत र असहमत सबै पक्षलाई समेटेर अघि बढ्ने बताउनुभयो । उहाँले नेतृत्वलाई पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सभापतिको पद अधिकार नभई जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले आफूबाट गल्ती भए त्यसको भार पार्टीले बोक्न नहुने बताउनुभयो । व्यक्तिका कमजोरीको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने उहाँको भनाइ थियो ।

हालैको प्राकृतिक विपत्तिका कारण धेरै परिवार शोक र अभावमा रहेकाले यस वर्ष दसैँ तडकभडकपूर्ण रूपमा नमनाउने कांग्रेसको निर्णय रहेको उहाँले जानकारी दिनुभयो । विपत्तिबाट प्रभावित तथा आफन्त गुमाएका परिवारसँग जोडिएर चाड मनाउन र सामाजिक सद्भाव कायम राख्न उहाँले पार्टीका नेता-कार्यकर्ता तथा आमनागरिकलाई आग्रह गर्नुभयो ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले छोटो समयमा तय गरिएको कार्यतालिकाअनुसार पनि निर्वाचन सम्पन्न भएको बताउनुभयो । उहाँले नेपाली कांग्रेसको इतिहासमै १६५ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरी केन्द्रीय महाधिवेशन गर्न सफल भएको जानकारी गराउनुभयो ।

खड्काले नवनिर्वाचित सभापति थापालाई देशमा बढ्दै गएको राजनीतिक अनुशासनहीनतालाई सही दिशामा ल्याउन आग्रह गर्नुभयो । उहाँले सार्वभौम सत्ताको संरक्षण, सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण तथा मानव अधिकारको रक्षाका लागि सक्षम भएर अघि बढ्न पनि सुझाव दिनुभयो । रासस

प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update