- कृष्णभीरमा सडक अवरुद्ध भए पनि वैकल्पिक मार्गबाट ग्यास आपूर्ति निरन्तर ।
- तीन दिनमा ८७ हजार ८७७ सिलिण्डर एलपी ग्यास काठमाडौँ भित्रियो ।
- १८ कम्पनीले तराईका उद्योगबाट ग्यास रिफिल गरी उपत्यका ल्याए ।
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएर यातायात अवरुद्ध भए पनि वैकल्पिक मार्गबाट पछिल्ला तीन दिनमा ८७ हजार ८७७ सिलिण्डर एलपी ग्यास काठमाडौँ भित्र्याइएको छ ।
नेपाल आयल निगमका अनुसार विभिन्न १८ कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट ग्यास रिफिल गरी उक्त परिमाणमा सिलिण्डर काठमाडौँ ल्याएका हुन् ।
भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ सिलिण्डर उपत्यका भित्रिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।
मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्गमार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको उहाँले बताउनुभयो ।
भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक अवरुद्ध भएपछि इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटोमै रोकिएका थिए । त्यसलगत्तै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा रिफिल गरिएका ग्यास सिलिण्डर काठमाडौँ भित्र्याउने व्यवस्था गरेको हो ।
ग्यास आपूर्ति सहज बनाउन सार्वजनिक बिदाका दिनमा समेत रिफिलिङ र ढुवानी नियमित गर्न ग्यास उद्योगलाई निर्देशन दिइएको निगमले जनाएको छ । रासस
