- तीन दिनका लागि तातोपानी नाका सञ्चालनमा
- चीनको सिचाङबाट मालवाहक सवारी नेपाल प्रवेश
- ४५ भन्दा बढी कन्टेनर नेपाल आउने प्रतीक्षामा
सिन्धुपाल्चोक । दसैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आएको छ । नाका खुलेसँगै चीनको स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन् ।
तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका खुलाएको हो ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार लिपिङ र कोदारी क्षेत्रमा कन्टेनरको लाम लागेको छ । चीनको सिचाङस्थित न्यालममा ४५ भन्दा बढी कन्टेनर नेपाल प्रवेशको प्रतीक्षामा रहेका उहाँले बताउनुभयो ।
चीनले गत भदौ १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो । दसैँका सामान भित्र्याउन तीन दिनका लागि नाका खुलेपछि आयातकर्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ । रासस
