- नेपालको लगातार दोस्रो जित ।
- मलेसिया ६ विकेटले पराजित ।
- अर्जुन कुमालको अविजित ४५ रन ।
रे समाचार/काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१ दशमलव ४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए । उनले ६८ बलमा चार चौकासहित अविजित ४५ रन जोडे ।
इसान पाण्डेले २०, दीपेन्द्रसिंह ऐरीले १२ तथा रोहितकुमार पौडेलले १० रन बनाए । मलेसियाका सायिद अजिज, भिरनदीप सिंह, प्रशान्त मधुकर र अरिफ उल्लाहले समान एक-एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२ दशमलव ३ ओभरमा १०३ रनमा अलआउट भएको थियो । मलेसियाका कप्तान सायिद अजिजले सर्वाधिक ३० रन बनाए । उनले ४९ बलमा दुई चौका र दुई छक्कासहित ३० रन जोडे ।
अकिल वाहिदले २४, भिरनदीप सिंहले १४ तथा स्याहादत रामिले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसीले चार विकेट लिए । ललितनारायण राजबंशीले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक-एक विकेट लिए ।
नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो । नेपालले अब तेस्रो खेल यही भदौ २१ गते साउदी अरेबियासँग खेल्नेछ ।
