RayNewsDaily
रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने
  •  साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा चलाइने ।
  •  आज साँझसम्म धुन्चेमा विद्युत् पुर्‍याउने लक्ष्य ।
  •  सौर्य ऊर्जालगायत वैकल्पिक स्रोत परिचालन गरिने ।

काठमाडौँ । भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई ‘आइसोलेटेड मोड’मा सञ्चालन गर्ने तयारी थालेको छ । ‘आइसोलेटेड मोड’ भनेको राष्ट्रिय प्रसारण प्रणालीबाट छुट्टिएर स्थानीय विद्युत् प्रणालीमार्फत विद्युत् आपूर्ति गर्ने अवस्था हो ।

स्थानीय विद्युत् प्रणालीलाई राष्ट्रिय प्रसारण प्रणालीबाट छुट्टै सञ्चालन गरी रसुवाका प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापना गर्ने उद्देश्यले आवश्यक प्राविधिक तयारी तथा समन्वय भइरहेको प्राधिकरणले जनाएको छ ।

साञ्जेन जलविद्युत् गृहबाट विद्युत् उत्पादन गरी स्थानीय प्रणालीमा आपूर्ति जोड्न उपकरणको पासवर्ड रिसेट गर्नुपर्ने भएकाले आवश्यक प्राविधिक सहयोगका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित चिनियाँ कम्पनीसँग समन्वय गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आवश्यक प्राविधिक सहयोग उपलब्ध भए आज साँझसम्म रसुवाको धुन्चेलगायत क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

बाढीबाट प्रभावित तथा तत्काल विद्युत् प्रणालीमा जोड्न सम्भव नभएका अन्य क्षेत्रमा भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सौर्य ऊर्जालगायत वैकल्पिक स्रोत परिचालन गरी विद्युत् सेवा उपलब्ध गराउने तयारी भइरहेको छ ।

बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत गरी नियमित विद्युत् आपूर्ति पुनःस्थापना गर्ने कामसँगै तत्कालको आवश्यकता पूरा गर्न वैकल्पिक ऊर्जा स्रोतसमेत परिचालन गर्ने रणनीति अपनाइएको छ । रासस

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १६:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update