RayNewsDaily
लागुऔषधविरुद्ध प्रहरीको कारबाही तीव्र, विभिन्न जिल्लाबाट १५ जना पक्राउ
एआई निर्मित सांकेतिक तस्वीर ।
  • काठमाडौँसहित सात जिल्लाका विभिन्न स्थानबाट १५ जना पक्राउ ।
  • हेरोइन, ब्राउनसुगरजस्तो पदार्थ र ट्रामाडोल बरामद ।
  • नियमित गस्तीमा खटिएको प्रहरी टोलीद्वारा पक्राउ ।

रे समाचार/काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँसहित विभिन्न सात जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका-७ मनमैजुबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही स्थानका ३६ वर्षीय उमेश मुखिया पक्राउ परेका हुन् ।

मोरङको पथरी शनिश्चरे नगरपालिका-१० सङ्गम टोलबाट सोही स्थानका २३ वर्षीय घनश्याम बस्नेत तथा झापाको हल्दीबारी गाउँपालिका-२ कदम चोकबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भद्रपुर नगरपालिका-७ का २३ वर्षीय सुवास राजवंशी पक्राउ परेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिकाबाट चार जना, दाङको तुलसीपुर उपमहानगरपालिका-९ सल्लेवनबाट दुई जना र लमही नगरपालिका-५ सुनखोलीबाट एक जना पक्राउ परेका छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ बाट लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ र नगदसहित शिवराज नगरपालिका–९ बानियाभारका २२ वर्षीय अर्जुन सुनारसहित तीन जना पक्राउ परेका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार हाइटबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोलसहित धादिङको धुनीबेँसी नगरपालिका-२ का २९ वर्षीय सुरज लुइटेल पक्राउ परेका छन् ।

यसैगरी, धरान उपमहानगरपालिका-१६ शमीचोकबाट सोही स्थानका २१ वर्षीय विदुर कार्कीलाई पनि पक्राउ गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update