RayNewsDaily
राष्ट्रका नाममा प्रधानमन्त्री शाहको सम्बोधन, शान्ति र सद्भाव कायम राख्न आह्वान
देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह ।
  • घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइने ।
  • अफवाह र घृणायुक्त सामग्री नफैलाउन प्रधानमन्त्रीको आग्रह ।
  • शान्ति, सद्भाव र राष्ट्रिय एकताका लागि सबै पक्षसँग संयमको अपिल ।

रे समाचार/काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका क्षेत्रमा हालै भएका घटनापछि उत्पन्न परिस्थितिप्रति सरकार गम्भीर, संवेदनशील र जिम्मेवार रहेको बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै उहाँले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभयो । घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनाको निष्पक्ष र पारदर्शी छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरिसकेको छ । दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई घटनास्थलमा परिचालन गरिएको बताउनुभयो ।

प्रधानमन्त्री शाहले गृहमन्त्री स्वयं प्रभावित क्षेत्रमा पुगेर अवस्था अनुगमन गरिरहेको र राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट समग्र सुरक्षा अवस्थाबारे आवश्यक निर्णयसमेत भइसकेको जानकारी दिनुभयो । केन्द्रमा सर्वदलीय बैठक आह्वान गरिएको तथा स्थानीय तहमा पनि निरन्तर संवाद भइरहेको उहाँको भनाइ थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट असत्य सूचना, अफवाह र घृणा फैलाउने गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गर्नुभयो । सरकारी निकायबाट सार्वजनिक गरिएका आधिकारिक सूचना र तथ्यमा मात्र विश्वास गर्न उहाँले अनुरोध गर्नुभयो ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा अवलम्बन गर्ने मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले कुनै पनि धर्मले हिंसा, वैमनस्य वा विभाजनको शिक्षा नदिने बताउनुभयो । एक स्थानमा भएको घटनालाई आधार बनाएर सम्पूर्ण समुदायलाई दोषारोपण गर्ने वा प्रतिशोधको भावना फैलाउने कार्य स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नुभयो ।

शान्ति सुरक्षा भंग गर्ने, अराजकता मच्चाउने र सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधिप्रति सरकार कठोर रहने चेतावनी दिँदै प्रधानमन्त्री शाहले आम नागरिक, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारमाध्यम तथा सबै सरोकारवालालाई धैर्य, संयम र जिम्मेवारीका साथ राष्ट्रिय एकता सुदृढ बनाउन सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको पूर्ण पाठ :

आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू,

म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु ।

१) केही दिनअघि सुनसरीको देवानगन्ज, सिरहा लगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ । यस दुःखद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।  साथै, शोकसन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।

२) घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ ।

३) घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति-सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ । म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो-कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।

४) अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ । परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ भने स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ ।

५) स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति-सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं, सुरक्षा निकायका उच्च अधिकारीहरूसहित घटनास्थलतर्फ प्रस्थान गरिसक्नुभएको छ । साथै, देशको समग्र शान्ति-सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको छ ।

६) यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गर्दछु । साथै, सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु ।

७) प्रत्येक नागरिकको जीउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो । आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ । प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिनेछन् । शान्ति-सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस्ता गतिविधिमाथि कडा कदम चालिनेछ ।

८) नेपालको संविधानले प्रत्येक नागरिकलाई आ-आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ। यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ ।

९) धर्म, समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति  हो। संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन । सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो ।

१०) देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन सक्दैन ।

आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू,

११) हाम्रो इतिहास साक्षी छ- कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रा सबैभन्दा ठूला शक्ति बनेका छन् ।

१२) हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ ।

१३) हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार सञ्चारके माध्यम सबके धैर्यता आ संयमता अपना क शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राख के लेल सरकार के तरफ स हार्दिक अपिल के  रहल छी ।

धन्यवाद ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update