RayNewsDaily
गृहमन्त्री गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुनुहुने ।
  • अन्तरदेशीय सुरक्षा र क्षेत्रीय सहकार्यमा छलफल हुने ।
  • असोज २८ गते स्वदेश फर्कने कार्यक्रम ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ ।

गृह मन्त्रालयका अनुसार उहाँ आज दिउँसो १ बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । गृहमन्त्री गुरुङले असोज २७ गते बिमस्टेक बैठकलाई सम्बोधन गर्नुहुनेछ ।

बैठकमा नेपाल, भारत, बङ्गलादेश, भूटान, म्यानमार, श्रीलङ्का र थाइल्याण्ड गरी सातवटै सदस्य राष्ट्रका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ ।

बैठकमा लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी, आतङ्कवाद, विपद्जन्य सुरक्षा र साइबर अपराधलगायत अन्तरदेशीय तथा क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्द्धन गर्न छलफल हुनेछ ।

मन्त्रालयका अनुसार सुरक्षा क्षेत्रका बिमस्टेकस्तरीय विभिन्न संयन्त्रमा छलफल भएका विषय तथा दस्तावेज पारित गर्नुका साथै घोषणापत्रसमेत जारी गरिनेछ ।

बैठकमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा एकीकृत उद्धार र राहतका लागि क्षेत्रीय सहकार्य बढाउने विषयलाई नेपालले प्राथमिकता दिने जनाइएको छ ।

गृहमन्त्रीका रूपमा गुरुङको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो । बिमस्टेकअन्तर्गत सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रका रूपमा रहेको यो बैठक पहिलोपटक भारतमा आयोजना हुन लागेको हो । उक्त संयन्त्रको परिकल्पना सन् २०१८ मा काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले गरेको थियो ।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले आफ्ना समकक्षीसँग भेटघाट तथा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ । उहाँ असोज २८ गते बुधबार स्वदेश फर्कने तालिका छ । रासस

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update