- प्रहरीलाई नैतिकता र अनुशासन पालना गर्न निर्देशन ।
- निष्पक्ष अनुसन्धान र नागरिकमैत्री सेवामा जोड ।
- ७९ प्रहरी निरीक्षक दीक्षित ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारिता पहिलो सर्त भएको बताउनुभएको छ ।
राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहमा उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री शाहले पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही पालना गर्नुपर्ने बताउनुभयो । जिम्मेवारीप्रति जवाफदेहिता पनि पेसागत सफलताको महत्त्वपूर्ण पक्ष भएको उहाँको भनाइ थियो ।
“पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु र गराउनु पेसागत सफलता हासिल गर्न महत्त्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो ।
नेपाल प्रहरीले देशमा शान्तिसुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र नागरिकका स्वतन्त्रताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको प्रधानमन्त्री शाहले बताउनुभयो ।
उहाँले कुनै पनि अनुचित प्रभावमा नपरी र भेदभाव नगरी कर्तव्यमा प्रतिबद्ध रहन प्रहरीलाई निर्देशन दिनुभयो । नागरिकका भावना र अपेक्षाअनुसार काम गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
प्रधानमन्त्री शाहले प्रहरी सङ्गठनभित्र सहयोग र सहकार्यको भावना विकास गर्न आग्रह गर्नुभयो । सूचना प्रविधिको प्रयोगले प्रहरीको काम छिटो, सहज, पारदर्शी र प्रभावकारी बनाउन सकिने उहाँले बताउनुभयो । यसबाट समयमै अपराध अनुसन्धान गर्न र घटनालाई नियन्त्रणमा लिन सहयोग पुग्ने उहाँको भनाइ थियो ।
अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसका लागि प्रहरी सङ्गठनको नेतृत्व र प्रशिक्षणको महत्त्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो ।
सरकारले अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन र प्रहरीप्रतिको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो ।
उहाँले दीक्षित प्रहरी निरीक्षकलाई बधाई दिँदै उज्ज्वल भविष्य र सफलताको कामना गर्नुभयो । प्रहरी सेवामा आबद्ध हुन प्रेरित गर्ने परिवारजनप्रति पनि उहाँले आभार व्यक्त गर्नुभयो ।
समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित हुनुभएको थियो । रासस
