RayNewsDaily
मोरङमा सद्भाव र्‍याली निकालिने, सर्वपक्षीय बैठकले गर्‍यो पाँच निर्णय
  • शुक्रबार विराटनगरमा सद्भाव र्‍याली निकालिने ।
  • सबै राजनीतिक दल र समुदायको सहभागिता रहने ।
  • सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न संयुक्त प्रतिबद्धता ।

रे समाचार/विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा दुई समूहबीच भएको विवादपछि उत्पन्न तनाव कम गर्न मोरङमा सर्वपक्षीय सद्भाव र्‍याली निकालिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले भोलि शुक्रबार अपराह्न ३ बजे विराटनगरमा सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको हो ।

र्‍यालीमा राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघसंस्था, सञ्चारकर्मी, युवा, व्यवसायी तथा विभिन्न धार्मिक समुदायका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । र्‍याली महेन्द्र चोकबाट सुरु भई ट्राफिक चोक, पञ्चमुखी हनुमान मन्दिर, वडा प्रहरी कार्यालय (क) हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिको डाँफे चोकमा पुगेर समापन हुनेछ ।

बैठकले साउन १० गते देवानगञ्जमा भएको घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको उपचारमा आवश्यक समन्वय गर्ने निर्णय पनि गरेको छ ।

सामाजिक तथा धार्मिक सद्भाव खलबल्याउने गतिविधि, अफवाह वा उत्तेजक सूचना देखिएमा तत्काल सम्बन्धित निकायबीच समन्वय गर्ने तथा शान्ति र सद्भाव कायम राख्न सबै पक्षले सहकार्य गर्ने प्रतिबद्धता बैठकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update