- आइफोन लुट्ने क्रममा साथीको हत्या भएको खुलासा ।
- घटनामा संलग्न आरोपमा चार जना पक्राउ ।
- नौ दिनपछि मनखोलामा मृत अवस्थामा शव फेला ।
रे समाचार/बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा बेपत्ता भएका १७ वर्षीय लजिन थापाको हत्या आइफोन लुट्ने उद्देश्यले आफ्नै साथीहरूले गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार साउन १ गते साथी असिम वनको जन्मदिन मनाउने भन्दै घरबाट निस्कनुभएका लजिन नौ दिनपछि शनिबार बिहान बडिगाड गाउँपालिका-१ मनखोलामा मृत अवस्थामा फेला पर्नुभएको थियो । पक्राउ पर्नेमा बडिगाड गाउँपालिका-१ का २० वर्षीय रेमबहादुर बिक, १९ वर्षीय सुदीप बिक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददि परियार रहेका छन् ।
अनुसन्धानका क्रममा जन्मदिन मनाउने क्रममा मादक पदार्थ सेवनपछि घर फर्किने क्रममा आइफोन मोबाइलको विषयमा विवाद भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार आइफोन लुट्ने क्रममा लजिनमाथि मुक्का र ढुङ्गा प्रहार हुँदा उहाँको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
प्रहरीका अनुसार हत्या भएपछि आरोपितहरूले शव मनखोलामा लगेर लुकाएका थिए । मोबाइल साथमा राख्दा प्रहरीको शङ्का हुन सक्ने भन्दै लुटिएको आइफोन पुनः मृतककै शवनजिकै राखिएको आरोपितहरूले प्रारम्भिक बयानमा स्वीकार गरेका छन् ।
लजिन काठमाडौंस्थित साइपाल कलेजमा कक्षा ११ अध्ययनरत हुनुहुन्थ्यो । परीक्षा सकेपछि नागरिकता बनाउन घर आउनुभएका उहाँ आफ्ना आमाबुवाका एक्ला छोरा हुनुहुन्थ्यो । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
