RayNewsDaily
विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ
  • बैंककबाट काठमाडौं आएका दुई जनाको सुटकेसमा भेटियो आठ किलो गाँजा ।
  • लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले विमानस्थलबाट गर्‍यो पक्राउ ।
  • देशभरबाट थप ३३ जना लागुऔषधसहित प्रहरी नियन्त्रणमा ।

रे समाचार/काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको मणिपुर घर भएका २० वर्षीया मोनादेवी ह्लाजोम र २३ वर्षीया ओनियम एलीलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले थाई एयरवेजको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनीहरूको सुटकेस जाँच गर्ने क्रममा गाँजा फेला पारेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यसैबीच, नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित थप ३३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बाँकेबाट छ जना, जुम्ला, मोरङ, कञ्चनपुर, चितवन र दाङबाट तीन÷तीन जना, रुपन्देही र काठमाडौंबाट दुई÷दुई जना तथा सुर्खेत, बर्दिया, कैलाली, सर्लाही, भक्तपुर, बारा, सल्यान र सुनसरीबाट एक÷एक जना पक्राउ परेका हुन् ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, भोमिन र एनारगनलगायतका लागुऔषध बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  १५:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update