RayNewsDaily
दमकमा घरायसी विवादको दुःखद अन्त्य : पत्नीको हत्या, आत्महत्याको प्रयास गरेका पतिको पनि मृत्यु
  • झापाको दमकमा घरायसी विवादपछि पतिले खुकुरी प्रहार गर्दा पत्नीको मृत्यु भएको छ ।
  • घटनालगत्तै आत्महत्याको प्रयास गरेका पतिको पनि उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
  • घटनाको कारण र परिस्थितिबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

रे समाचार/झापा । झापाको दमकमा घरायसी विवादले दुःखद रूप लिँदा पतिको आक्रमणबाट पत्नीको मृत्यु भएको छ । घटनापछि आत्महत्याको प्रयास गरेका पतिको पनि उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो दमक नगरपालिका-१ श्रीपाली चोकका ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया पत्नी विजयकुमारी दर्जीबीच सामान्य विषयमा विवाद भएको थियो । विवाद चर्किएपछि धनबहादुरले पत्नीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो ।

घटनालगत्तै धनबहादुरले घरको अर्को कोठामा गई सिलिङ पङ्खामा सलको पासो लगाएर आत्महत्याको प्रयास गरेका थिए । त्यही बेला घरमा रहेकी २५ वर्षीया छोरीले बाबुलाई झुण्डिएको अवस्थामा देखेपछि पासो काटेर तत्काल उद्धार गरेकी थिइन् ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले दुवै जनालाई तत्काल उद्धार गरी दमक अस्पताल पुर्‍याए पनि उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  १९:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update