RayNewsDaily
दरबारदेखि रानीकुवासम्म : इतिहास, जनश्रुति र संरक्षणको मौन साक्षी        

जनक श्रेष्ठ/लमजुङ । डुम्रे-बेँसीसहर सडकखण्ड हुँदै यात्रा गर्ने जो-कोहीको नजर सडक छेउमा रहेको एउटा पुरानो कुवामा पर्न सक्छ । हतारमा यात्रा गर्नेका लागि त्यो सामान्य पानीको कुवा मात्र हुनसक्छ तर त्यसको मौन गहिराइभित्र १६ औँ शताब्दीको लमजुङ दरबारको इतिहास लुकेको छ । तत्कालीन राजपरिवारको जीवनशैली, बटुवाको यात्राको कथा, स्थानीय समाजको परिवर्तन र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जनविश्वास पनि सुरक्षित छ ।     
     
यहाँ कुनै समय रानी वा राजपरिवारले प्रयोग गर्ने कुवा (इनार) थियो । गाउँसहर दरबार आउने-जाने बाटोमा यो पानीको मुख्य स्रोत भएकाले त्यसलाई ‘रानीको कुवा’ भनिन थालियो । यो व्याख्या स्थानीय मौखिक परम्परामा आधारित हो, यसलाई पुष्टि गर्ने शिलालेख वा आधिकारिक इतिहास हालसम्म उपलब्ध छैन । समयले धेरै कुरा फेरिए पनि ‘रानीकुवा’ले इतिहासका ती पदचाप अझै बोकेर बसेको छ । लमजुङको रानीकुवा नामको उत्पत्तिबारे आधिकारिक ऐतिहासिक अभिलेख धेरै उपलब्ध छैन तर स्थानीय जनश्रुति र त्यहाँको ऐतिहासिक परिवेशका आधारमा केही तथ्यहरु फेला पार्न सकिन्छ ।     
     
बेँसीसहर नगरपालिका-३ (साविक गाउँसहर गाउँ विकास समिति) मा अवस्थित रानीकुवाअन्तर्गत पर्ने बस्ती हो । गाउँसहर क्षेत्र तत्कालीन लमजुङ राज्यको महत्वपूर्ण ऐतिहासिक केन्द्र मानिन्छ । यही क्षेत्रमा पुरानो दरबार, प्रशासनिक संरचना र धार्मिक स्थलहरू रहेकाले रानीकुवा पनि त्यही ऐतिहासिक परिवेशको एउटा हिस्सा भएर विकसित भएको देखिन्छ । रानीकुवा केवल एउटा बस्ती मात्र नभई गाउँसहर प्रवेशको महत्वपूर्ण विन्दु हो । हालको नगर योजनामा पनि गाउँसहर, काउलेपानी, पुरानोकोट गढी र नाल्मा जाने प्रवेशद्वार रानीकुवामा निर्माण गरिएको उल्लेख छ ।     
     
लमजुङ दरबारसँग जोडिएको यो कुवा स्थानीय जनश्रुतिअनुसार तत्कालीन राजा यशोब्रह्म शाहको पालामा निर्माण गरिएको मानिन्छ । दरबारमा रहेका रानीहरूका लागि सुरक्षित खानेपानी तथा स्नानको व्यवस्था गर्न कुवा खनाइएको विश्वास गरिन्छ । यही कारण यसको नाम ‘रानीकुवा’ रहन गएको स्थानीयहरूको भनाइ छ । स्थानीय जनश्रुतिअनुसार लमजुङ दरबार र तत्कालीन बसोबासको शैलीसँग गाउँसहर र बेँसीसहरको नामसमेत जोडिएको पाइन्छ । गर्मी याममा माथिल्लो क्षेत्रमा र जाडो याममा बेँसी क्षेत्रमा बसोबास गर्ने चलनका कारण यी नाम प्रचलनमा आएको स्थानीयहरू बताउँछन् । पछि बेँसी क्षेत्रमा बस्ती विस्तार हुँदै जाँदा बेँसीसहरको पहिचान विकसित भएको मानिन्छ ।     
     
स्थानीय बूढापाकाहरूका अनुसार कुनै समयमा राजपरिवार वा दरबारका मानिसहरूले प्रयोग गर्ने पानीको कुवा यहाँ भएकाले त्यसको नाम रानीकुवा रहन गएको भन्ने जनश्रुति प्रचलित छ । यद्यपि, यसलाई पुष्टि गर्ने प्रमाणित ऐतिहासिक दस्तावेज हालसम्म सार्वजनिक रूपमा भेटिँदैन । ८६ वर्षीय स्थानीय बासिन्दा माधवप्रसाद घिमिरेका अनुसार सुरुमा रानीकुवा राजपरिवारको प्रयोगका लागि सीमित थियो । समयसँगै आसपास बस्ती विस्तार भयो र स्थानीयले पनि यही कुवाको पानी प्रयोग गर्न थाले । आधुनिक खानेपानीको व्यवस्था भएपछि यसको प्रयोग घटे पनि ऐतिहासिक महत्व भने कायमै रहेको उहाँ बताउनुहुन्छ ।     
     
स्थानीय इतिहासका जानकार अङ्गराज घिमिरेका अनुसार अहिले सडक रहेको स्थानमा पहिले गोरेटो बाटो थियो । त्यस बाटोमाथि रहेको ‘रानी चौतारा’ मा यात्रुहरूले विश्राम गर्थे र यही कुवाको पानी पिउँथे । उहाँका अनुसार रानीहरू पनि यही क्षेत्रमा आउने, स्नान गर्ने र कुवाको पानी प्रयोग गर्ने गर्थे । त्यसैले रानीकुवा केवल पानीको स्रोत नभई तत्कालीन राजकीय जीवन र स्थानीय समाजबीचको सम्बन्धको जीवित साक्षी हो । घिमिरेका अनुसार राजा यशोब्रह्म शाहलाई लमजुङ ल्याउन कुसम्माखरलाई लमजुङका छ थरले अगुवा गर्न आग्रह गरेअनुसार उहाँले यशोब्रह्मलाई ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । तीमध्ये कुस्माखर घिमिरेको योगदान विशेष रहेको स्थानीय इतिहास र जनश्रुतिमा उल्लेख पाइन्छ । ज्योतिष, राजनीतिक ज्ञान र दूरदर्शिताका कारण परिचित कुस्माखर घिमिरे राष्ट्रिय झण्डाको प्रारम्भिक परिकल्पनासँग समेत जोडिने व्यक्तित्व भएको उहाँको भनाइ छ ।     
     
नेपाल एकीकरणअघि प्रयोगमा रहेको १२ कुना भएको सूर्य र आठ कुना भएको चन्द्र अङ्कित झण्डाको प्रारम्भिक स्वरूपको परिकल्पनामा उहाँको भूमिका रहेको स्थानीय जनश्रुतिमा पाइन्छ । लमजुङ दरबार संरक्षण समितिका अध्यक्ष राजेन्द्र बोहोराका अनुसार रानीकुवा र लमजुङ दरबारलाई अलग गरेर हेर्न सकिँदैन । दरबारको इतिहास बुझ्न रानीकुवाको संरक्षण पनि उत्तिकै आवश्यक रहेको उहाँको भनाइ छ । उहाँका अनुसार इतिहासको संरक्षण केवल पुराना संरचना जोगाउनु मात्र होइन, त्यससँग जोडिएका तथ्य, जनश्रुति, संस्कृति र सामूहिक स्मृतिलाई भावी पुस्तासम्म पु¥याउनु पनि हो ।     
     
पर्याप्त संरक्षणको अभाव, प्राकृतिक क्षय तथा बढ्दो मानवीय चापका कारण रानीकुवासहित दरबार क्षेत्रका ऐतिहासिक सम्पदाको मौलिकता जोगाउनु चुनौतीपूर्ण बन्दै गएको छ । दरबार, रानीकुवा, रानी चौतारा तथा आसपासका सम्पदालाई समेटेर दीर्घकालीन संरक्षण, व्यवस्थापन र पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना तयार गर्ने प्रक्रिया अघि बढाइएको अध्यक्ष बोहोराले बताउनुभयो । लमजुङ दरबार ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण सम्पदा हो । यसको संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकारसहित विभिन्न निकायबाट पहल भइरहेको उहाँ बताउनुहुन्छ ।     
     
रानीकुवा गाउँसहर दरबार जाने मार्गमा पर्ने भएकाले यो स्थान तत्कालीन लमजुङ राज्यसँग सम्बन्धित हुनसक्ने स्थानीय विश्वास छ । सरकारी विकास योजनाका कागजातहरूमा पनि रानीकुवा-ऐतिहासिक गाउँसहर दरबार सडकको उल्लेख पाइन्छ, जसले यस क्षेत्रको ऐतिहासिक सम्बन्धलाई सङ्केत गर्छ । दरबार क्षेत्रमा रहेको ऐतिहासिक धारासँग पनि स्थानीय जनविश्वास जोडिएको छ । अहिले पनि चैतेदसैँ र फूलपातीका अवसरमा दरबारमा लाग्ने मेलामा सहभागी हुनुअघि उक्त धारामा स्नान गरेर जाने परम्परा रहेको अध्यक्ष बोहोरा बताउनुहुन्छ ।     
     
स्थानीय तहले पनि रानीकुवाको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राखेको जनाएको छ । वडाध्यक्ष चित्रबहादुर दनाईका अनुसार रानीकुवा क्षेत्रको सौन्दर्यीकरण र प्रवद्र्धनका लागि केही वर्षअघि करिब रु छ लाखको लागतमा रानीपार्क निर्माण गरिएको थियो । यसको संरक्षण, ऐतिहासिक अध्ययन र पर्यटन प्रवर्द्धनका लागि थप पहल भइरहेको उहाँ बताउनुहुन्छ । रानीकुवा, लमजुङ दरबार र आसपासका ऐतिहासिकस्थललाई एउटै पर्यटन परिपथका रूपमा विकास गर्ने सोच रहेको उहाँको भनाइ छ ।     
     
यसैबीच ऐतिहासिक परिसरमा अहिले कुस्माखर घिमिरेको शालिक निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय प्रतिष्ठान समितिका अध्यक्ष श्रीकान्त घिमिरेका अनुसार स्थानीय स्वर्गीय डिल्लीराज घिमिरेको सम्झनामा उहाँकी धर्मपत्नी हिमादेवी घिमिरे तथा छोराहरू गुणराज घिमिरे र तोयाराज घिमिरेसहित परिवारले चार आना जग्गा उपलब्ध गराएका छन् । गण्डकी प्रदेश सरकारको रु १५ लाखको बजेटमा निर्माण भइरहेको शालिकको ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुरमा निर्माण गरिएको शालिक रानीकुवा परिसरमा ल्याइसकिएको छ र उपयुक्त मिति छनोट गरी स्थापना गरिनेछ । कुस्माखर घिमिरेको ऐतिहासिक योगदानलाई नयाँ पुस्तासम्म चिनाउने उद्देश्यले शालिक निर्माण गरिएको उहाँ बताउनुहुन्छ ।     
     
अध्यक्ष श्रीकान्त घिमिरेका अनुसार रानीकुवा र यसको आसपासको क्षेत्र पुरातात्त्विक दृष्टिले महत्वपूर्ण छ । त्यसैले पुरातत्व विभागसँग समन्वय गरी यसको संरक्षण, अध्ययन, अभिलेखीकरण र प्रचारप्रसारलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । रानीकुवा आज केवल एउटा पुरानो कुवा होइन, यो लमजुङको इतिहास, जनविश्वास, राजपरम्परा, स्थानीय जीवन र सांस्कृतिक पहिचानको जीवित साक्षी हो । यसको छेउमै निर्माणाधीन कुस्माखर घिमिरेको शालिकले इतिहासका अर्का पात्रलाई नयाँ पुस्तासँग परिचित गराउने प्रयास गरिरहेको छ ।     
     
रानीकुवा, लमजुङ दरबार, रानी चौतारा, ऐतिहासिक धारा र कुस्माखर घिमिरेसँग जोडिएका सम्पदालाई एउटै संरक्षण र पर्यटन परिपथका रूपमा विकास गर्न सकिएमा यसले लमजुङको इतिहासलाई मात्र होइन, नेपालको सांस्कृतिक पर्यटनलाई पनि नयाँ आयाम दिन सक्ने बताइएको छ । इतिहासका यस्ता सम्पदाहरू ढुङ्गा, माटो वा पानीका संरचना मात्र होइनन्, तिनले एउटा समाजको स्मृति, पहिचान र निरन्तरताको कथा बोकेका हुन्छन् । रानीकुवाले आज पनि त्यही इतिहासको मौन साक्षी बनेर भविष्यलाई अतीतसँग जोडिरहेको छ । रासस  
 

प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update